इन्टरनेट बजारमा दुई दर्जन कम्पनीको हालिमुहाली: कसको वर्चस्व कति ?
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १८ बिहिबार
902
Shares
काठमाडौँ । नेपाली बजारमा अहिले करिब दुई दर्जनभन्दा बढी इन्टरनेट सेवा प्रदायक कम्पनीहरू (आईएसपीएस) प्रतिस्पर्धामा छन्। उनीहरू सेवाको गुणस्तरभन्दा पनि ग्राहक सङ्ख्या बढाउनमा होडबाजी गरिरहेका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको असोज महिनासम्मको तथ्याङ्कअनुसार बजारमा प्रतिस्पर्धा गर्नेमध्ये सबैभन्दा बढी बजार हिस्सा वर्ल्डलिङ्कको रहेको छ। वर्ल्डलिङ्कका ग्राहक १० लाख ३६ हजार पुगेका छन्। बजार हिस्सा कायम गर्न सफल वर्ल्डलिङ्कपछि दोस्रो स्थानमा डिशहोम रहेको छ, जसका ग्राहक ३ लाख ७७ हजार पुगेका छन्।
सरकारी लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ३ लाख ६० हजार ग्राहकसहित तेस्रो स्थानमा रहेको छ। बजार विस्तारमा आक्रामक देखिएको भायनेट ३ लाख २५ हजार ग्राहकसहित चौथो नम्बरमा छ भने क्लासिक टेक ले असोज मसान्तसम्म २ लाख ५९ हजार ग्राहक सङ्ख्या पुर्याएर पाँचौँ स्थान ओगटेको छ।
बजार हिस्साका रूपमा छैटौं नम्बरमा सुबिसु इन्टरनेट (२ लाख ५४ हजार ग्राहक) र सातौँ नम्बरमा वेभसफर (१ लाख ७६ हजार ग्राहक) देखिएका छन्। यस्तै आठौँ नम्बरमा टेकमाइन्स (१ लाख १५ हजार ग्राहक) रहेको छ भने नवौँ र दशौँ नम्बरमा क्रमशः वाइफाई नेपाल र सिजि कम्युनिकेशन रहेका छन्।
इन्टरनेट कम्पनीहरू यसरी ग्राहक तानातानमा उत्रिए पनि उपभोक्ता भने इन्टरनेट प्रयोगमा सन्तुष्ट देखिँदैनन्। इन्टरनेट प्रदायक कम्पनीहरूले इन्टरनेटमा देखिएका समस्याहरू समाधानमा समयमै चासो नदेखाउने गरेको गुनासाहरू उपभोक्ताबाट आउने गरेका छन्।