राष्ट्रिय सभाको अधिवेशन आह्वान नभएकोमा सभामुख घिमिरेको गुनासो
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
939
Shares
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न ढिलाइ गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
आइतबार संसद सेवा दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिनिधि सभा सञ्चालनमा नभए पनि राष्ट्रिय सभालाई प्रभावकारी ढंगले अघि बढाउन आफूहरूले दिएको सुझावअनुसार काम नभएको गुनासो गरे।
सभामुख घिमिरेले राष्ट्रिय सभा स्थायी प्रकृतिको अङ्ग भएकाले अधिवेशन नबोलाइएकोमा प्रश्न गर्दै भने "अब अहिले हामीले माग गर्दा पनि राष्ट्रिय सभाको अधिवेशन बोलाईराखिएको छैन। त्यो त स्थायी प्रकृतिको हो नि। अब यिनीहरूलाई कसरी चलाउने भन्ने बारेमा पनि आजकै दिनबाट ठोस निकास दिन सकियोस्।"
उनले संसदका कर्मचारीहरूलाई प्रभावकारी ढंगले परिचालन गर्न, सेवा सुविधा व्यवस्थापन गर्न र आवश्यक कानुन निर्माण गर्नका लागि संसद एकेडेमी आवश्यक रहेको औँल्याए। साथै, उनले देशको आवश्यकताअनुसार संसदलाई स्थापित गर्ने, प्रभावकारी बनाउने र बनेका कानूनहरू कार्यान्वयन गर्न सरकारलाई बाध्य पार्ने काम गर्नुपर्नेमा जोड दिए। उनले संसद सचिवालयको पदाधिकारी नियुिक्तको विषयमा पनि गम्भीर छलफल गरेर अघि बढ्नुपर्ने अवस्था रहेको बताएका छन्।