प्रेस काउन्सिल अध्यक्ष वरिष्ठ अधिवक्ता डा आचार्यलाई नियुक्ति पत्र
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
916
Shares
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा. कुमार आचार्य नियुक्त भएका छन् । उनलाई आज सञ्चार मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नियुक्ति पत्र प्रदान गरे ।
मन्त्री खरेलले स्वतन्त्र, निष्पक्ष, मर्यादित र जिम्मेवारीपूर्ण पत्रकारिताको विकासका लागि प्रेस काउन्सिलले थप प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । मन्त्री खरेलले पेशागत उच्च व्यवसायिक अभ्यासका साथ मर्यादित र जिम्मेवारीपूर्ण पत्रकारिताको विकासमा काउन्सिल सक्रिय हुनुपर्ने बताए ।
सञ्चार मन्त्री खरेलले नेपालको आमसञ्चार र नयाँ मिडियालाई थप व्यवसायिक, मर्यादित, जनउत्तरदायी र प्रभावकारी बनाउन काउन्सिलले संविधान र कानूनले दिएको अधिकार र जिम्मेवारी कर्तव्यबहन गर्दै काम गर्नुपर्नेमा जोड दिए ।
काउन्सिलका नवनियुक्त अध्यक्ष आचार्यले प्राप्त गहन जिम्मेवारीलाई इमान्दारीपूर्वक पालना गर्ने विश्वास व्यक्त गरे । उनले अधिकारको प्रयोग नगरी कर्तव्य प्रयोग गरेर संस्थाको गरिमालाई उचो बनाउने कार्यमा सक्रिय प्रतिबद्धता जनाए ।
उनले भने,“जेन-जी आन्दोलनपछि सुशासनको पक्ष र भ्रष्टाचार विरुद्धमा गठन भएको सरकारले नियुक्त गरेको मान्छे भएर मेरो प्राथमिकतामा संस्थागत भ्रष्टाचार र अनियमितता नियन्त्रण तथा मर्यादित र जिम्मेवारिपूर्ण पत्रकारिताको विकास रहेको छ ।”
मन्त्रिपरिषद्को गत मङ्सिर १५ गतेको बैठकले आचार्यलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेको थियो ।