मुस्ताङमा हिउँमै नेपाल–चीन सीमाको संयुक्त सुरक्षा गस्ती
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
752
Shares
मुस्ताङ। नेपाल–चीन उत्तरी कोरलानाकास्थित सीमाक्षेत्रमा आइतबार हिउँकै बीचमा संयुक्त सुरक्षा गस्ती गरिएको छ। अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङका कर्मचारी प्रतिनिधिसहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले यो गस्ती सम्पन्न गरेको हो।
एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार, हिउँदयाममा सीमाक्षेत्रमा हुनसक्ने सम्भावित वन्यजन्तुको चोरी सिकारी तथा तस्करीका साथै सीमाक्षेत्रमा हुनसक्ने सम्भावित अपराध, अवैध क्रियाकलाप र अवान्छित गतिविधि नियन्त्रण गर्नु गस्तीको मुख्य उद्देश्य हो। हिउँदयाममा सीमाक्षेत्र सुनसान हुने र चोरी सिकारी तथा तस्करीलगायतका घटना हुनसक्ने भएकाले एक्यापसहितको सुरक्षा टोलीले कोरला क्षेत्रको संयुक्त सुरक्षा गस्ती गरेको एक्याप लोमान्थाङको भनाइ छ।
गस्ती टोलीमा प्रमुख पौडेलसहित लोमान्थाङ–२ नेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बिओपी) र नेपाल प्रहरी गरी करिब एक दर्जन सदस्य खटिएका थिए। टोली सेताम्मे हिउँमा माइनस डिग्री तापक्रम को प्रवाह नगरी कोरलास्थित सीमाक्षेत्रको सुरक्षा गस्तीमा जुटेको थियो। हिउँदयाममा उत्तरी नेपाल–चीन सीमाक्षेत्रमा यो पहिलो संयुक्त सीमा सुरक्षा गस्ती हो।
संयुक्त सुरक्षा गस्तीको टोलीले उत्तरी नेपाल–चीन कोरलानाकाको २४ नम्बर सीमास्तम्भदेखि मनाङतर्फ पर्ने सीमास्तम्भ २५, २६, २७ र २८ नम्बर सीमाक्षेत्रमा पुगेर गस्ती गरेको हो। उपल्लो मुस्ताङमा गत कात्तिक १० गते भारी हिमपात भए पनि त्यसयता हिउँ परेको छैन। यद्यपि नेपाल–चीन सीमाक्षेत्रमा कात्तिक १० गते परेको हिउँ यथास्थितिमै छ।
हिउँदयामसँगै उपल्लो मुस्ताङमा चिसो अत्यधिक बढेको छ। यहाँ बिहान र बेलुकीपखको तापक्रम माइनस २० डिग्री मा झर्ने गरेको छ। चिसोका कारण उपल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेँसी झरिसकेका छन्। सीमावर्ती क्षेत्रमा कार्यरत सुरक्षाकर्मी भने चिसो सहँदै सीमा सुरक्षाका लागि खटिएका छन्।