मुस्ताङमा बेमौसमी हिमपात: गर्मीयाम शुरू हुँदा पनि सेताम्मे बन्यो मुक्तिनाथ
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
369
Shares
काठमाडौँ । मुस्ताङ भ्रमणका लागि यतिबेला सबैभन्दा अनुकूल मौसम मानिए पनि यहाँको उच्च हिमाली क्षेत्रमा बेमौसमी हिमपात भएको छ । हिउँदयामको चिसो टरेर गर्मी शुरू भइसक्दा पनि बुधबार वारागुङ मुक्तिक्षेत्रमा करिब एक घण्टाभन्दा बढी समय हिउँ परेको हो । मुक्तिनाथस्थित हाई अल्टिच्युड ट्रिटमेन्ट सेन्टरका स्वास्थ्यकर्मी सरोज घर्तीका अनुसार हिमपातका कारण आसपासका नाँगा डाँडाकाँडा फेरि सेताम्मे भएका छन् भने चिसो समेत बढेको छ ।
यस वर्ष मुक्तिनाथ क्षेत्रमा आठौँ पटक हिमपात भएको हो । वसन्त ऋतुको समयमा, जहाँ पालुवा पलाएर प्रकृति गुल्जार हुनुपर्ने हो, त्यस्तो बेला मौसम प्रतिकूल बन्नुलाई स्थानीयले जलवायु परिवर्तनको असरका रूपमा लिएका छन् । वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमेश गुरुङले बेमौसमी हिमपातका कारण मुक्तिनाथ यात्रामा रहेका दर्शनार्थीलाई असहज हुनुका साथै अन्नबाली र विशेष गरी फुल्दै गरेका स्याउका फूलहरू नष्ट हुने चिन्ता बढेको बताउनुभयो ।
स्थानीय खिङ्गा गाउँका मुखिया ल्हाक्पाटसी गुरुङले वैशाख महिनामा हिउँ पर्नु अनौठो र चिन्ताजनक रहेको उल्लेख गर्नुभयो । हिउँदयाममा हुने हिमपात कृषि र माटोको चिस्यानका लागि फाइदाजनक हुने भए पनि बालीनाली लगाउने र फुल्ने समयमा भएको यो बेमौसमी वर्षा र हिउँले पर्यटन र कृषि दुवै क्षेत्रमा नकारात्मक असर पु¥याउने देखिएको छ । यसअघि नै स्थानीयले हिउँदयामको बिदाइ र बर्खाको स्वागत स्वरूप ‘धछ्याङ’ पर्व मनाइसकेका छन् ।