तनहुँ । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले तनहुँ जिल्लामा सहरी विकास तथा भवन निर्माणका लागि ४८ करोडका योजना सञ्चालन गरेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा बस्ती विकास कार्यक्रमअन्तर्गत ४८ करोडका योजना सञ्चालन गरिएको हो ।
कार्यालय प्रमुख सुनिता श्रेष्ठले तनहुँ जिल्लाका विभिन्न पालिकामा तीन करोडका १६ योजना सञ्चालन गरिएको जानकारी दिए ।
यस्तै बहुवर्षीय योजना अन्तर्गत रु आठ करोड ३३ लाखका योजना निरन्तर सञ्चालन भइरहेको छ । कार्यालय प्रमुख श्रेष्ठका अनुसार शुक्लागण्डकी नगरपालिका-७ कुम्ले मनपाङ नेराथुम मोटरमार्ग स्तरोन्नति, व्यास शिव पञ्चायन क्षेत्र विकास कार्य, व्यास नगरपालिका-१० बैरेनी जग्गा एकीकरणको पूर्वाधार निर्माण, व्यास नगरपालिका-१३ बेलबास बेनीकोट सहरी सडक स्तरोन्नति, सोही वडाको जनजागृति गङ्गा मावि बालमैत्री भवन निर्माण, भिमाद नगरपालिका-३ लोकतान्त्रिक जनहित संयुक्त मोटरमार्ग स्तरोन्नति, भीमाद नगरपालिका-४ भीमगुफा मोटरमार्ग स्तरोन्नति, ऋषिङ गाउँपालिका-४ सुमित्रा स्मृति सामुदायिक भवन निर्माण, आँबुखैरेनी गाउँपालिका-१ मित्रता अपाङ्गता समावेशी विद्यालयमा रु तीन/तीन करोड बजेट विनियोजन भएको छ ।
यस्तै भानु नगरपालिका-१३ लम्की हाजिचोक मोटरमार्ग स्तरोन्नति, भानु नगरपालिका-९ बीपी स्मृति भवन निर्माण, भानु नगरपालिका-८ शितलचोक देउरालीटार खसुन्डे सडक स्तरोन्नति, भानु नगरपालिका-३ साँखुली कान्ले चोकाली टोल हुँदै चाम्बास डुम्रे बेसीशहर सडक स्तरोन्नति, भानु नगरपालिका-१ भन्सार वृहत खानेपानी आयोजनाको पूर्वाधार निर्माण, भानु नगरपालिका-९ कालिका माध्यमिक विद्यालय १० कोठे भवन निर्माण र बागेश्वरी मार्ग लादीखोला बरभञ्ज्याङ खण्ड स्तरोन्नतिका लागि रु तीन/तीन करोड बजेट विनियोजन भएको छ ।
कार्यालयले गत आर्थिक वर्षमा जिल्लामा सघन सहरी विकास कार्यक्रमतर्फ २२ करोड एक लाखको योजना सञ्चालन गरेकामा १८ करोड ८५ लाख खर्च भएको जनाएको छ । बस्ती विकास कार्यक्रमतर्फ १३ करोड ९८ लाखका योजना सञ्चालन गरिएकामा उक्त योजनामा सात करोड ८४ लाख खर्च भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।
एकीकृत स्वास्थ्य पूर्वाधार विकासतर्फ ७५ लाखका योजना सञ्चालन गरिएकामा ३९ लाख बजेट खर्च भएको छ । सहरी विकास तथा भवन निर्माण विभागतर्फ एक करोड २० लाखका योजना सञ्चालन गरिएकामा एक करोड पाँच लाख बजेट खर्च भएको जनाइएको छ ।
बहुवर्षीय र ठूला कार्यक्रमको सङ्ख्या कम हुनु र साना तथा टुक्रे आयोजनाको सङ्ख्या बढी हुँदा कार्यक्रम कार्यान्वयनमा समस्या परिरहेको श्रेष्ठको भनाइ छ ।
उनले भने, “बहुवर्षीय कार्यक्रममा आवश्यक भए बमोजिमको बजेट विनियोजन नहुँदा लक्ष्य अनुरुपको कार्य प्रगतिमा बाधा पुगेको छ ।” रासस