अल्बानिया, क्यानडा र अमेरिका पठाइदिने प्रलोभनमा ४९ लाखभन्दा बढी ठगी गर्ने तीन जना प्रहरीको फन्दामा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ४ शुक्रबार
778
Shares
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न आकर्षक देशहरूमा पठाइदिने भन्दै करिब ४९ लाख १४ हजार ५०० रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले बिहीबार तीन जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा कपिलवस्तुका ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुरकी ३३ वर्षीया बबिता विश्वकर्मा र भक्तपुरका २५ वर्षीय साइरज सुवेदी रहेका छन्।
उनीहरूले विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारीमा लैजाने विश्वास दिलाएर मोटो रकम असुल गरेपछि सम्पर्कविहीन भएका थिए।
प्रहरी उपरीक्षक काजीकुमार आचार्यले दिएको जानकारीअनुसार पक्राउ परेकामध्ये अधिकारीले अल्बानिया पठाउने भन्दै १९ लाख, विश्वकर्माले क्यानडा पठाइदिने प्रलोभनमा १९ लाख र सुवेदीले अमेरिका लैजाने भन्दै ११ लाख १४ हजार ५०० रुपैयाँ ठगी गरेका थिए।
पीडितहरूले आफूहरू ठगिएको भन्दै उजुरी दिएपछि प्रहरीले सक्रियता देखाई उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
नियन्त्रणमा लिइएका तीनै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।