arrow

मुस्ताङको 'हाइअल्टिच्युड'मा दुई विद्युत् सबस्टेसन बन्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ४ शुक्रबार
mustang-bidhut.jpg

काठमाडौँ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा ३३ केभी क्षमताका दुईवटा विद्युत् सबस्टेसन निर्माण प्रक्रिया बिहीबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको नवलपुर ग्रामीण विद्युतीकरण तथा चैले/चराङ ३३ केभी प्रसारण लाइन आयोजनाले मुस्ताङलाई पूर्ण रूपमा विद्युतीकरण गर्ने उद्देश्यले यी संरचना निर्माण गर्न लागेको हो।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको विशेष पहलमा अघि बढेको यस आयोजनाको निर्माणस्थल अवलोकन तथा सर्वे कार्य आयोजना प्रमुख र निर्माण कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको छ।

भारतीय कम्पनी देवयान्स र नेपाली कम्पनी भिसान जेभीले ३८ करोड रुपैयाँको लागतमा यी सबस्टेसन निर्माणको ठेक्का पाएका छन्। आयोजना प्रमुख विमलराज राउतका अनुसार १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएका यी सबस्टेसनहरू समुद्री सतहदेखि ३,८०० मिटरको उचाइमा रहनेछन्।

उच्च हिमाली क्षेत्रको प्रतिकुल मौसम र हिउँलाई समेत थेग्न सक्ने गरी विशेष 'हाइअल्टिच्युड' डिजाइनमा यी सबस्टेसन तयार पारिनेछन्। कोवाङ सबस्टेसनबाट करिब १०३ किलोमिटरको दूरीमा रहेका यी संरचनाले माथिल्लो मुस्ताङमा लामो समयदेखि कायम रहेको न्यून भोल्टेज र विद्युत् आपूर्तिको अनियमिततालाई स्थायी रूपमा समाधान गर्ने विश्वास गरिएको छ।

यसैगरी गाउँपालिका अध्यक्ष विष्टले नयाँ सबस्टेसनहरू सञ्चालनमा आएपछि मुस्ताङको पर्यटन, आधुनिक कृषि र औद्योगिक विकासमा नयाँ आयाम थपिने बताए।

हाल जिल्लामा थासाङस्थित कोवाङमा मात्र एउटा ३३ केभी सबस्टेसन हुँदा माथिल्लो क्षेत्रका बासिन्दाले सास्ती भोग्दै आएका थिए। यसअघि नै कोवाङदेखि चराङसम्मको प्रसारण लाइन विस्तार कार्य सुरु भइसकेको र त्यसको भौतिक प्रगति हालसम्म ९५ प्रतिशत पुगिसकेको निर्माण कम्पनीले जानकारी दिएको छ। यी सबस्टेसनहरूको निर्माण सम्पन्न भएपछि मुस्ताङको विद्युत् प्रणाली थप सुदृढ र भरपर्दो हुने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ