पुँजीगत लाभकर संकलन झण्डै दोब्बरले वृद्धि, ४० अर्ब नाघ्यो राजस्व
४० अर्ब ११ करोड संकलन हुँदा अर्थतन्त्रमा सुधारको सङ्केत
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
705
Shares
काठमाडौँ । नेपालको अर्थतन्त्रमा सुधारको सङ्केत देखिँदै जाँदा पुँजीगत लाभकर संकलनमा उल्लेख्य वृद्धि भएको छ। आन्तरिक राजस्व विभागको पछिल्लो तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८१/०८२ मा पुँजीगत लाभकर संकलन झन्डै दोब्बरले बढेको पाइएको हो।
गत आर्थिक वर्ष २०८०/०८१ मा २२ अर्ब रुपैयाँ मात्र संकलन भएको यस शीर्षकमा यस वर्ष ४० अर्ब ११ करोड रुपैयाँ राजस्व दाखिला भएको छ। यो वृद्धिलाई मुलुकको अर्थतन्त्र क्रमशः सुधारतर्फ उन्मुख हुँदै गएको एउटा बलियो आधारका रूपमा विश्लेषण गरिएको छ।
नेपाल सरकारले आय आर्जनका सबै स्रोतलाई करको दायरामा ल्याउने र करको आधार विस्तार गर्ने उद्देश्यका साथ वि.सं. २०५८ देखि पुँजीगत लाभमा कर लगाउन सुरु गरेको थियो। व्यक्तिगत र संस्थागत दुवै तहमा लागू हुँदै आएको यो करको संकलनमा पछिल्ला पाँच वर्षमा निकै उतारचढाव देखिएको छ।
आर्थिक वर्ष २०७७/०७८ मा २९ अर्ब ३१ करोड संकलन भएको यो राजस्व आव २०७८/०७९ मा सामान्य बढेर ३० अर्ब पुगेको थियो। तर, त्यसपछिको वर्ष आव २०७९/०८० मा भने राजस्व संकलन झन्डै आधाले घटेर १६ अर्ब ५७ करोडमा खुम्चिएको थियो।
विभागका अनुसार विगतका वर्षहरूमा पुँजीगत लाभकरमा आएको यस्तो ठुलो गिरावटमा बाह्य र आन्तरिक दुवै कारणहरू जिम्मेवार थिए। विशेष गरी रुस–युक्रेन युद्धको विश्वव्यापी प्रभाव, नेपालको बैंकिङ क्षेत्रमा देखिएको तरलता सङ्कट र विदेशी विनिमय सञ्चितिमा परेको दबाबका कारण सरकारले आयात नियन्त्रणका नीतिहरू अवलम्बन गरेको थियो।
यी नीतिगत कडाइका कारण समग्र आर्थिक गतिविधि सुस्त हुन पुग्यो, जसले गर्दा सेयर बजार र घरजग्गा कारोबारमा ठुलो गिरावट आयो। सेयर र घरजग्गा जस्ता पुँजीगत लाभ हुने क्षेत्रहरू शिथिल हुँदा त्यसको प्रत्यक्ष नकारात्मक असर राजस्व संकलनमा परेको विभागको वार्षिक प्रतिवेदनले पुष्टि गरेको छ।