मन्त्री खरेलको एक सय दिन, ३० बुँदे उपलब्धि सार्वजनिक
अनलाइन सञ्चारमाध्यमको दर्ता अब विभागबाटै
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
771
Shares
काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो कार्यकालको एक सय दिन पूरा भएको अवसरमा ३० बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन्। आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उनले यस अवधिमा भएका मुख्य उपलब्धिहरूको जानकारी दिएका हुन्।
मन्त्री खरेलका अनुसार अब अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणका लागि जिल्ला प्रशासन कार्यालय धाइरहनु पर्ने झन्झट अन्त्य भएको छ। छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ बमोजिम सूचना तथा प्रसारण विभागका महानिर्देशकलाई 'स्थानीय अधिकारी' को रूपमा अधिकार तोकिएको छ। योसँगै अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरणको सम्पूर्ण काम विभागबाटै हुने व्यवस्था मिलाइएको उनले बताए।
मन्त्री खरेलले पत्रकारिता क्षेत्रका लागि अर्को महत्त्वपूर्ण घोषणा गर्दै स्वर्गीय पत्रकार सुरेश रजतलाई 'शहीद' घोषणा गरिएको जानकारी दिए। यसैगरी, सरकारी सञ्चारमाध्यम गोरखापत्रमा समावेशीतालाई ध्यान दिँदै भाषा थप गरी हाल कुल ४६ भाषामा समाचार तथा लेख रचनाहरू प्रकाशन हुन थालेको उनले उल्लेख गरे।
आफ्नो सय दिनको कार्यकालमा सञ्चार र प्रविधिको क्षेत्रमा उल्लेख्य र दूरगामी सुधारका कामहरू भएको दाबी गर्दै मन्त्री खरेलले आगामी दिनमा बाँकी रहेका नीतिगत सुधारलाई थप गति दिने प्रतिबद्धता व्यक्त गरेका छन्।