ऐतिहासिक मन्दिरको विवादले रणमैदान बन्यो सीमा: नौ लाख विस्थापित
वार्ताबाट समाधान खोजिँदै, मलेसियामा निर्णायक वार्ता हुँदै
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
1.9k
Shares
काठमाडौँ | छिमेकी मुलुकहरू थाइल्याण्ड र कम्बोडियाबीच दुई हप्तादेखि जारी घातक सीमा द्वन्द्वका कारण मानवीय सङ्कट चुलिएको छ। पछिल्लो भिडन्तका कारण कम्बोडियाका ५ लाखभन्दा बढी र थाइल्याण्डका झण्डै ४ लाख गरी कुल ९ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। दुवै देशले ट्याङ्क, ड्रोन र तोपखाना प्रयोग गरेको यस महिनाको द्वन्द्वमा थाइल्याण्डतर्फ २२ र कम्बोडियातर्फ १९ जनाको मृत्यु भइसकेको छ।
औपनिवेशिक युगको ८०० किलोमिटर लामो सीमा र त्यहाँ अवस्थित प्राचीन मन्दिरका भग्नावशेषहरूको स्वामित्वलाई लिएर यो दशकौँ पुरानो विवाद पुनः बल्झिएको हो। कम्बोडियाको गृह मन्त्रालयले थाई तोपखाना र हवाई आक्रमणका कारण ५ लाख १८ हजारभन्दा बढी मानिसहरूले घर र विद्यालय छोड्नु परेको र उनीहरूले गम्भीर कठिनाइ भोगिरहेको जनाएको छ। उता थाइल्याण्डको रक्षा मन्त्रालयले पनि आफ्ना २ लाखभन्दा बढी नागरिक अझै आश्रयस्थलमै रहेको र बारुदी सुरुङको डरले घर फर्कन नसकेको बताएको छ।
कूटनीतिक वार्ताको तयारी तनाव कम गर्न सोमबार मलेसियाको क्वालालम्पुरमा दक्षिणपूर्वी एसियाली विदेश मन्त्रीहरूको बैठक बस्दैछ। कम्बोडियाको विदेश मन्त्रालयले यो बैठकलाई शान्ति र असल छिमेकी सम्बन्ध पुनस्र्थापना गर्ने अवसरका रूपमा लिएको छ। कम्बोडियाले विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने आफ्नो अडान पुनः पुष्टि गरेको छ।
यद्यपि, थाइल्याण्डले भने वार्ताका लागि कडा सर्तहरू अघि सारेको छ। थाई विदेश मन्त्रालयकी प्रवक्ता मराती नलिता अन्डामोले कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने र सीमामा बिछ्याइएका विस्फोटक पदार्थ हटाउन सहयोग गर्नुपर्ने माग राखेकी छन्। मलेसियामा हुने छलफलले यी सर्तहरू र युद्धविरामको विषयमा के कस्तो नतिजा निकाल्छ भन्नेमा अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित भएको छ।