थाइल्याण्ड र कम्बोडियाबीच युद्धविरामको प्रयास: निर्णायक वार्ता हुँदै
थाइल्याण्ड र कम्बोडियालाई संयम अपनाउन र शत्रुता त्याग्न निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
1.8k
Shares
काठमाडौँ । थाइल्याण्ड र कम्बोडियाबीच जारी सीमा द्वन्द्व अन्त्यका लागि पुनः कुटनीतिक पहल शुरु भएको छ। मलेसियाको कुआलालम्पुरमा सम्पन्न आसियान विदेश मन्त्रीहरूको विशेष बैठकपछि थाइल्याण्डले कम्बोडियासँग युद्धविरामका विषयमा पुनः छलफल सुरु गर्ने बताएको हो।
थाइल्याण्डका विदेशमन्त्री सिहासाक फुआङ्केटकेओले आगामी डिसेम्बर २४ मा हुने 'जनरल बोर्डर कमिटी' को बैठकमा युद्धविरामको विस्तृत विवरण र यसको कार्यान्वयनबारे थप छलफल गरिने जानकारी दिए। उनले थाइल्याण्डले छिमेकी मुलुकहरूसँग सधैँ शान्ति चाहेको उल्लेख गर्दै यो समस्यालाई द्विपक्षीय वार्ताको माध्यमबाटै समाधान गर्न इच्छुक रहेको स्पष्ट पारे।
क्षेत्रीय समूह आसियानको पहलमा सोमबार आयोजित विशेष बैठकले दुवै देशलाई अधिकतम संयम अपनाउन र तत्काल शत्रुतापूर्ण गतिविधि रोक्न आग्रह गरेको छ। बैठकले यसअघि जुलाईमा भएको युद्धविरामलाई पुनः कार्यान्वयन गर्न र अक्टोबरमा हस्ताक्षर गरिएको 'कुआलालम्पुर संयुक्त घोषणा' लाई पूर्ण रूपमा पालना गर्न दुवै पक्षको ध्यानाकर्षण गराएको छ। डिसेम्बर २४ को बैठकमा युद्धविरामको प्रमाणीकरण कसरी गर्ने भन्ने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।
लामो समयदेखिको सीमा विवादका कारण थाइल्याण्ड र कम्बोडियाबीच यसै वर्षको जुलाई र डिसेम्बरमा पुनः हिंसात्मक झडपहरू भएका थिए। दुवै देशले एकअर्कामाथि पहिला आक्रमण गरेको आरोप लगाउँदै आएका छन्। बाह्य मध्यस्थता र क्षेत्रीय दबाबका बीच हुन लागेको यो वार्ताले सीमा क्षेत्रमा शान्ति पुनर्बहाली गर्ने विश्वास लिइएको छ।