ऐतिहासिक मन्दिरको विवाद :विष्णुको मूर्ति हटाइएको थाइल्याण्डको पुष्टि, सीमा युद्धमा ४४ को मृत्यु
थाई प्रधानमन्त्रीको भनाइ: 'नष्ट भएको मूर्तिको मूल्य सैनिकको जीवनभन्दा ठुलो हुँदैन'
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
2k
Shares
काठमाडौँ । थाइल्याण्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको हिन्दू देवता विष्णुको मूर्ति हटाएको पुष्टि गरेको छ। सरकारका अनुसार यस कदमको उद्देश्य धर्म वा विश्वासको अनादर गर्नु नभई सीमा क्षेत्रमा नियन्त्रण कायम गर्नु र सुरक्षा सुनिश्चित गर्नु थियो।
छिमेकी दुई देशबीच दुई हप्ताभन्दा बढी समयदेखि जारी सैन्य झडपपछि सो मूर्ति ध्वस्त पारिएको थियो। कम्बोडियाका अधिकारीहरूले यस कार्यमा कडा आपत्ति जनाएका छन्। प्रेह विहार प्रान्तीय प्रवक्ताले उक्त मूर्ति सन् २०१४ मा निर्माण भएको र गत सोमबार हटाइएको जानकारी दिए।
थाई सरकारले उक्त संरचना कुनै आधिकारिक धार्मिक स्थलको रूपमा दर्ता नगरिएको र त्यो केवल एक सजावटी तत्वको रूपमा रहेको स्पष्ट पारेको छ। थाई मन्त्रालयले भनेको छ, “अझ महत्त्वपूर्ण कुरा, यस क्षेत्रको प्रभावकारी नियन्त्रण सुनिश्चित गर्ने उद्देश्यका साथ मूर्ति हटाइएको थियो।”
सो मूर्ति ध्वस्त पारिएको भिडियो यस हप्ता थाई सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। गुगल नक्साका अनुसार उक्त मूर्ति कम्बोडियाको सीमाबाट करिब ४०० मिटरको दूरीमा रहेको थियो।
यो क्षेत्र लामो समयदेखि सीमा द्वन्द्वको केन्द्र रहँदै आएको छ। यस महिना सुरु भएको पछिल्लो झडपमा थाइल्याण्डका २३ जना सैनिक र कम्बोडियाका २१ नागरिक गरी कुल ४४ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले जनाएको छ।
थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले ‘नष्ट भएको मूर्तिलाई सैनिकहरूको जीवन वा अङ्गहरूसँग तुलना गर्न सकिँदैन’ भन्दै सीमा विवाद नियन्त्रणमा राख्न सरकार पूर्ण रूपमा सक्रिय रहेको बताएका छन्।