मदुरोले गरे अमेरिकासँग 'आपसी सम्मान' को आधारमा वार्ताको प्रस्ताव
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
1.8k
Shares
काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकाले आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने ग्यारेन्टी गरेमा संवादका लागि आफू तयार रहेको घोषणा गरेका छन्।
एक टेलिभिजन सम्बोधनका क्रममा राष्ट्रपति मदुरोले आपसी सम्मान र सार्वभौमिकताको कदर हुने अवस्थामा अमेरिकासँग वार्ता गर्न आफ्नो इच्छा रहेको स्पष्ट पारेका हुन्।
उनले विगत २५ वर्षदेखि अमेरिकाले भेनेजुएलामाथि गर्दै आएको हस्तक्षेपकारी प्रयास र दबाबका नीतिहरू छोड्नुपर्ने सर्त राखेका छन्।
"यदि अमेरिका सम्मानजनक रूपमा संवाद गर्न र हस्तक्षेपकारी व्यवहार अन्त्य गर्न तयार छ भने हामी त्यसलाई स्वागत गर्नेछौँ," मदुरोले भने। उनले शान्ति, सहकार्य र साझा समृद्धिको बाटो पहिल्याउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
यो प्रस्तावले विशेष गरी भेनेजुएलामाथि लगाइएका आर्थिक प्रतिबन्धहरू र राजनीतिक विवाद समाधानका लागि नयाँ ढोका खोल्न सक्ने अपेक्षा गरिएको छ।