नर्सिङ होममा आगो लाग्दा १६ वृद्धवृद्धाको गयो ज्यान
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
1.7k
Shares
काठमाडौँ । इन्डोनेसियाको सुलावेसी टापुमा रहेको एक नर्सिङ होममा आइतबार राति करिब ८:३० बजे आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ। स्थानीय दमकल विभागका प्रमुख जिमी रोतिन्सुलुले अधिकांश वृद्ध बासिन्दाहरू आफ्नो कोठामा विश्राम गरिरहेका बेला आगो सल्किएकाले उनीहरूले ज्यान जोगाउन नसकेको बताए।
आगलागी लगत्तै खटिएको उद्धार टोलीले १२ जनालाई सुरक्षित बाहिर निकाल्न सफल भएको छ, जसमध्ये तीन जना गम्भीर घाइते रहेका छन्। उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ। सञ्चार माध्यमहरूले सार्वजनिक गरेको भिडियोमा आगोको लप्काले भवनलाई पूर्ण रूपमा घेरेको र स्थानीय बासिन्दाहरूले वृद्धवृद्धालाई बचाउन संघर्ष गरेको देखिन्छ।
अधिकारीहरूले हाल मृतकहरूको पहिचान गर्ने कार्य भइरहेको र घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्। इन्डोनेसियामा पछिल्लो समय आगलागीका घटनाहरू बढ्दो क्रममा छन्। यसै महिना जकार्ताको एक सात तले भवनमा भएको आगलागीमा २२ जनाको ज्यान गएको थियो। यो घटनाले इन्डोनेसियाका सार्वजनिक भवनहरूको अग्नि सुरक्षा मापदण्डमाथि पुनः प्रश्न उठाएको छ।