चार वर्षपछि कमल थापाले स्वीकारे लिङ्देनको नेतृत्व [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १६ बुधबार
654
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा चार वर्षपछि राजेन्द्र लिङ्देनको नेतृत्व स्वीकार्दै आफ्नो मूलघर राप्रपामै फर्किएका छन् । राप्रपा र राप्रपा नेपालबीच बुधबार एकता भएको हो ।
थापाले ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै राप्रपा नेपाललाई राप्रपामा विलय गराएका हुन् । सहमतिपत्रमा राप्रपाको एकता महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित भएर पछि राप्रपा नेपाल रोजेकाहरुलाई सोही जिम्मेवारीमा फर्काइने उल्लेख छ ।
गत २०७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा लिङ्देनसँग पराजित भएसँगै थापाले आफूलाई निर्मल निवासले धोका दिएको भन्दै पूर्वराजालाई अपमान हुने भाषाको प्रयोग गरी राप्रपा छाडेका थिए ।
त्यससँगै उनले राप्रपा नेपाल पुनः व्युँताएका थिए । त्यसअघि राप्रपामा समाहित हुँदा उनले गीताको कसम खाएर कहिल्यै नटुक्रने बताएका थिए ।
राजधानीमा बुधबार भएको एकता सभा भने राजावादीहरूका लागि निर्विकल्प भएकोसमेत बताएका छन् । नयाँ दलहरू खडा हुनुले पनि अब राजावादी शक्तिहरू एक हुनुपर्नेमा जोड दिँदै आइएको छ ।
यता राप्रपा र राप्रपा नेपालबीचको एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पछिल्लो समय पार्टीको एजेण्डाको लोकप्रियता र स्वीकार्यता बढ्दै गएको दाबी गरे ।
उनले एजेण्डाजस्तै देशभर पार्टीको स्वीकार्यता बढाउनेगरी संगठित भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले राप्रपामा समाहित कमल थापालाई विगतका कुराहरु सम्झिएर अन्यथा नलिन आग्रह गर्दै अध्यक्षको हैसियतले सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।
उनले विगतका घटनाहरुलाई नराम्रो सपना सम्झेर बिर्सिदिनसमेत आग्रह गरे । उनले राप्रपाले सामना गर्नुपर्ने चुनौतीहरू थुप्रै रहेको उल्लेख गर्दै ती चुनौतीहरुको सामना गर्न विचार मिल्ने सबै व्यक्ति र समूहलाई एकतामा आउनसमेत आह्वान गरे ।
उनले अगामी प्रतिनिधि सभा निर्वाचनमा आगामी प्रतिनिधि सभा निर्वाचनमा राप्रपालाई प्रमुख राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्ने दाबी पनि गरे ।