arrow

भेनेजुएला सङ्कट: मादुरो पक्राउको खबरले विश्व राजनीतिमा हलचल, कुन देशको प्रतिक्रिया के ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
maduro-with-wife.jpg

काठमाडौँ । भेनेजुएलामा अमेरिकी सैन्य कारबाही र राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी अमेरिका लगिएको खबरले विश्व समुदायलाई दुई कित्तामा स्पष्ट रूपमा विभाजित गरिदिएको छ। कतिपय देशले यसलाई 'प्रभुत्ववादी आक्रमण' भन्दै निन्दा गरेका छन् भने कतिपयले यसलाई 'न्यायिक कदम' को रूपमा खुसियाली मनाउँदै स्वागत गरेका छन्। यस ऐतिहासिक र तनावपूर्ण घटनाक्रमको सिधा प्रभाव छिमेकी मुलुकहरूमा पर्न थालेको छ।

भेनेजुएलाको सबैभन्दा नजिकको छिमेकी कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले यस हमलाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले आफ्नो जनसङ्ख्याको सुरक्षा गर्न र सीमा पार गरी आउन सक्ने शरणार्थीहरूको सम्भावित लर्को व्यवस्थापन गर्न सीमा क्षेत्रमा थप सेना तैनाथ गर्न आदेश दिएका छन्। 

संयुक्त राष्ट्र सङ्घले पनि यस घटनाक्रमलाई 'खतरनाक नजिर' को संज्ञा दिँदै अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको बताएको छ। महासचिवका प्रवक्ता स्टेफन दुजारिकले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा पर्न सक्ने ठुलो प्रभावप्रति चिन्ता व्यक्त गर्दै सबै नेताहरूलाई मानव अधिकार र विधिको शासनको सम्मान गर्न आग्रह गरेका छन्।

युरोपेली सङ्घ (ईयू) की विदेश नीति प्रमुख काजा कलासले अमेरिकी विदेश मन्त्री र काराकासस्थित राजदूतसँग कुरा गरी स्थितिबारे जानकारी लिएकी छिन्। इयूले मादुरोको वैधानिकतामाथि प्रश्न उठाउँदै आए पनि जस्तोसुकै परिस्थितिमा अन्तर्राष्ट्रिय कानुन र राष्ट्र सङ्घको बडापत्रको सम्मान हुनुपर्नेमा जोड दिएको छ। 

उता बेलायती प्रधानमन्त्री किअर स्टार्मरले भने यस कारबाहीमा बेलायतको कुनै पनि हिसाबले संलग्नता नरहेको स्पष्ट पारेका छन्। रुस र क्युबाले भने यसलाई 'अस्वीकार्य र चिन्ताजनक' भन्दै कडा निन्दा गरेका छन्।

चीनले पनि भेनेजुएलामाथिको आक्रमण र राष्ट्रपतिमाथिको कारबाहीलाई 'प्रभुत्वपूर्ण कार्य' भन्दै कडा शब्दमा भर्त्सना गरेको छ। चिनियाँ विदेश मन्त्रालयले यसले ल्याटिन अमेरिकाको शान्ति र सुरक्षालाई खतरामा पारेको बताएको छ। 

रुसले पनि टेलिग्राममार्फत एक विज्ञप्ति जारी गर्दै भेनेजुएलाका जनतालाई आफ्नो भाग्य आफैँ निर्धारण गर्ने अधिकार हुनुपर्ने र बाह्य हस्तक्षेप स्वीकार्य नहुने उल्लेख गरेको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले तनाव वृद्धिप्रति जिम्मेवार बन्न आह्वान गर्दै मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न सकिने प्रस्ताव गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरोलाई उनकी पत्नीसहित पक्राउ गरिएको र देश बाहिर निकालिएको दाबी गरे पनि भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले भने उनीहरूको अवस्था अज्ञात रहेको भन्दै जीवितै रहेको प्रमाण मागेकी छिन्। 

यसैबीच, अमेरिकाको दक्षिण फ्लोरिडामा रहेका भेनेजुएलाका विस्थापित समुदायले भने मादुरो पक्राउको खबरलाई उत्सवका रूपमा मनाएका छन्। डोरल सहरमा भेला भएका ठुलो सङ्ख्याका नागरिकहरूले 'स्वतन्त्रता' को नारा लगाउँदै खुसियाली साटासाट गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ