मस्जिद तोडफोडको विरोधमा वीरगन्ज तनावपूर्ण: प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास प्रहार
तनावपूर्ण बनेको वीरगन्जमा सुरक्षा कडा, दुई प्रहरी घाइते, एक प्रदर्शनकारी रिहा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
819
Shares
काठमाडौँ । धनुषाको धन्कवलस्थित एक मस्जिदमा अज्ञात समूहले गरेको तोडफोडको विरोधमा पर्साको वीरगन्जमा मुस्लिम समुदायले उग्र प्रदर्शन गरेका छन्। आइतबार भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा वीरगन्जको स्थिति केही समय तनावपूर्ण बनेको थियो।
वीरगन्ज वडा नम्बर २ बाट सुरु भएको विरोध जुलुस मुख्य बजार क्षेत्रतर्फ बढ्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो। सो क्रममा स्थिति नियन्त्रण बाहिर जान लागेपछि प्रहरीले करिब ५ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ।
प्रहरी बिटमा तोडफोड र सडक अवरोध आक्रोशित प्रदर्शनकारीले वीरगन्जको छपकैया, इदगाह चोक, घण्टाघर र मुड्ली लगायतका क्षेत्रमा टायर बालेर सडक अवरुद्ध गरेका थिए। झडपका क्रममा प्रदर्शनकारीले ढुङ्गामुढा गर्दा छपकैयास्थित सामुदायिक प्रहरी बिटको झ्याल र बोर्डमा क्षति पुगेको छ। प्रदर्शनका कारण वीरगन्जको व्यापारिक चहलपहल केही घण्टा ठप्प बनेको थियो।
प्रहरी घाइते र सुरक्षा सतर्कता झडपमा परी दुई जना प्रहरी जवान सामान्य घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले एक जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिए पनि वातावरण सहज बनाउन उनलाई पछि रिहा गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजु कार्कीले हाल वीरगन्जको अवस्था सामान्य रहेको जानकारी दिएका छन्। "अहिले अवस्था पूर्ण नियन्त्रणमा छ, हामीले सुरक्षा व्यवस्था कडा पारेका छौँ," प्रवक्ता कार्कीले भने। अप्रिय घटना हुन नदिन वीरगन्जका संवेदनशील क्षेत्रहरूमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र प्रहरीले गस्ती बढाएको छ।