arrow

हसिना शासनमा जबर्जस्ती अपहरणका घटनामा मात्रै दुई सय ८७ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
sheikh-hasina-r.jpg
तस्बिर : फाइल

काठमाडौँ । बङ्गलादेशमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालमा भएका जबर्जस्ती अपहरणका घटनामा कम्तीमा दुई सय ८७ जनाको मृत्यु भएको आशङ्का गरिएको छ ।

सरकारद्वारा गठित एक अनुसन्धान आयोगले एक हजार पाँच सय ६९ अपहरण घटनाको छानबिन गर्दा तीमध्ये दुई सय ८७ जना मृत मानिएको जनाएको हो ।

आयोगका अनुसार मृतकहरूको शव ढाकाको बुरिगङ्गा नदीलगायत विभिन्न नदीमा फ्याँकिएको तथा सामूहिक चिहानमा गाडिएको हुन सक्ने अनुमान गरिएको छ ।

विभिन्न स्थानमा चिन्ह नलगाइएका चिहानहरू फेला परेको आयोगले जनाएको छ ।

आयोगको अन्तिम प्रतिवेदनमा सुरक्षा निकायहरूले शेख हसिना र उनका शीर्ष अधिकारीहरूको निर्देशनमा काम गरेको उल्लेख छ ।

अपहरणमा परेकामध्ये धेरैजसो हसिनाविरुद्ध रहेका जमात-ए-इस्लामी र बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का सदस्य रहेको प्रतिवेदनले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सत्ता जोगाउन गरिएको दमनका क्रममा करिब एक हजार चार सय जनाको ज्यान गएको थियो ।

शेख हसिनालाई मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ