arrow

कृषि पढेका युवाको फार्ममा फले 'राता सुन', वार्षिक लाखौँको कमाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
strawberry-google.jpg

काठमाडौँ । कृषि प्राविधिक विषयको अध्ययन र व्यावसायिक सोच मिलेपछि दाङको घोराहीमा स्ट्रबेरी (भुइँऐसेलु) खेती फस्टाएको छ। कैलालीका २७ वर्षीय युवा दशरथ साउदले घोराही–१५ भरतपुरमा दुई बिघा जग्गा भाडामा लिएर गरेको स्ट्रबेरी खेती अहिले आम्दानीको मुख्य स्रोत बनेको छ। उनलाई यस व्यवसायमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिएका छन्।

गत वर्ष मात्रै २१ लाख रुपैयाँ बराबरको स्ट्रबेरी कारोबार गरेका साउदले यस वर्ष मङ्सिरदेखि नै बिक्री सुरु गरिसकेका छन्। हाल दैनिक ७० किलोभन्दा बढी स्ट्रबेरी प्रतिकिलो ७ सय रुपैयाँका दरले बिक्री भइरहेको उनले बताए। कृषि प्रविधिसम्बन्धी अध्ययनका कारण उनले दाङ मात्र होइन, कपिलवस्तु र कैलालीमा समेत व्यावसायिक रूपमा यो खेती विस्तार गरेका छन्। परम्परागत कृषिको सट्टा प्रविधिको प्रयोग गर्दा सफलता मिलेको उनको अनुभव छ।

यस्तै, घोराही–१४ झिँगौरामा २८ वर्षीय अर्का युवा वीरेन्द्र खड्काले पनि व्यावसायिक स्ट्रबेरी खेतीबाट लोभलाग्दो आम्दानी गरिरहेका छन्। रोल्पा स्थायी घर भएका खड्काले स्वर्गद्वारी आश्रमको जग्गा भाडामा लिएर 'दाङ एग्रोमार्ट कृषि फार्म' मार्फत स्ट्रबेरीसँगै सयपत्री फूल र खरबुजाको समेत खेती गर्दै आएका छन्। थोपा सिँचाइ र मल्चिङ प्रविधि अपनाएर गरिएको यस खेतीमा सुरुमा करिब ८ लाख रुपैयाँ लगानी भएको र अहिले उत्पादन दिन थालेपछि उत्साह थपिएको उनले बताए।

कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार जिल्लाको हावापानी र माटो स्ट्रबेरीका लागि निकै उपयुक्त छ। उनले स्ट्रबेरी संवेदनशील फल भएकाले प्याकिङ र ढुवानीमा सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन्। दाङमा व्यावसायिक रूपमा यो खेती नयाँ भए पनि युवाहरूको सक्रियताले यसले बजार र भविष्य दुवै राम्रो देखाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ