दाहालको सम्मानमा कांग्रेसको विशेष महाधिवेशनका आजका औपचारिक कार्यक्रम स्थगित [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २६ शनिबार
698
Shares
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनका ओपचारिक कार्यक्रम आजलाई स्थगित भएका छन् ।
नेपाली कांग्रेसका नेता, प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं अग्रज पत्रकार होमनाथ दाहालको निधन भएका कारण शोक मनाउन आजका औपचारिक कार्यक्रम स्थगित गरिएको संचार तथा प्रचारप्रसारसमिति संयोजक सुवासकुमार पोखरेलले जानकारी दिए ।
दाहालको ८४ वर्षको उमेरमा निधन भएको हो । पोखरेलले भोलि र पर्सी हुने विशेष महाधिवेशन भने यथावत् रहेको जानकारी दिए ।
विशेष महाधिवेशन भृकुटीमण्डपमा आइतबार र सोमबार हुँदैछ । त्यसका लागि अधिकांश जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आइसकेका छन् ।
दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले दाहालको सम्मानमा आजका पदयात्रा लगायतका सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित भएको जनाए ।
प्रचारप्रसार सदस्यसचिव माधव चम्लागाईंका अनुसार आज र्यालीसहितका कार्यक्रम आयोजना गर्ने कार्यक्रम थियो ।
केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै घरमै उपचारमा रहेका ८४ वर्षीय पूर्वकृषि, सहकारी तथा गरिबी निवारणमन्त्री दाहाललाई हृदयाघात भएपछि उपचारका क्रममा गएराति वीरअस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
ओखलढुङ्गा जिल्लाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मिएका दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकका सम्पादक थिए ।
उनले नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हाले ।
उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ । उनका श्रीमती, दुई छोरा छन् ।