१२ अर्ब डलरको लगानी, वार्षिक ११ करोड यात्रुले सेवा पाउने
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
2.1k
Shares
काठमाडौँ । इथियोपियाले अफ्रिकाकै सबैभन्दा ठूलो र अत्याधुनिक विमानस्थल बनाउने लक्ष्यका साथ राजधानी आदिस अबाबा नजिकै 'बिशोफ्टु' मा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण औपचारिक रूपमा सुरु गरेको छ। निर्माण सम्पन्न भएपछि यो विमानस्थल महादेशकै सबैभन्दा विशाल हवाई यातायात केन्द्र (हब) हुने दाबी गरिएको छ।
यस महत्त्वाकांक्षी परियोजनाको कुल लागत करिब १२ अर्ब ७० करोड अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। पूर्ण क्षमतामा सञ्चालनमा आएपछि यसले वार्षिक ११ करोड यात्रुलाई सेवा दिन सक्नेछ, जुन हाल सञ्चालनमा रहेको बोले विमानस्थलको क्षमताभन्दा चार गुणा बढी हो। परियोजना सम्पन्न हुन करिब पाँच वर्ष लाग्ने बताइएको छ।
प्रधानमन्त्री अबी अहमदले यसलाई ‘अफ्रिकाको उड्डयन इतिहासकै सबैभन्दा ठूलो पूर्वाधार परियोजना’ को संज्ञा दिँदै निर्माण कार्यको औपचारिक घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जाल 'एक्स' मार्फत इथियोपियालाई भविष्यमा पनि अफ्रिकाको अग्रणी हवाई प्रवेशद्वारका रूपमा स्थापित गर्ने लक्ष्य लिएको बताए।
अत्याधुनिक रेलमार्ग र कनेक्टिभिटी ३५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिने यो विमानस्थललाई राजधानीसँग जोड्न बहु–लेन मोटरवे र ३८ किलोमिटर लामो उच्च–गतिको रेलमार्ग निर्माण गरिनेछ। उक्त रेलले प्रतिघण्टा २०० किलोमिटरको गतिमा यात्रु ओसार्ने प्रधानमन्त्री अहमदले जानकारी दिए।
यस परियोजनामा अफ्रिकी विकास बैंकले ५० करोड डलर सहयोग उपलब्ध गराइसकेको छ भने बाँकी लगानीका लागि एसियाली विकास बैंक र अमेरिकी विकास वित्त निगमसँग छलफल भइरहेको छ। इथियोपियन एयरलाइन्सको आंशिक लगानी रहने यस आयोजनाका लागि करिब २,५०० किसानलाई मुआब्जा दिएर पुनःस्थापना गरिएको छ।
अफ्रिकाको दोस्रो ठूलो जनसङ्ख्या भएको इथियोपियाले पछिल्ला वर्षहरूमा ठूला बाँध र सहरी नवीकरण जस्ता वृहत् पूर्वाधार निर्माणमा आफूलाई केन्द्रित गर्दै आएको छ।