तीन वर्षकी छोरीको हेरचाह र आमाको सम्झनामा बित्थ्यो प्रशान्तको समय: सुटिङ सकिएको फिल्म नै बन्यो अन्तिम चिनो
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
1k
Shares
काठमाडौँ । सन् २००७ मा भारतीय रियालिटी शो 'इन्डियन आइडल' को तेस्रो सिजन जितेर विश्वभरका नेपालीलाई एकताको सूत्रमा गाँस्न सफल गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार ४२ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ।
दिल्लीमा रहँदा अचानक भएको उनको निधनको खबरले दार्जिलिङ लगायत संसारभरका नेपालीभाषी समुदायलाई स्तब्ध बनाएको छ।
प्रशान्तले नेपाली चलचित्र 'हिम्मत–२' बाट पाश्र्व गायनमा डेब्यु गरेका थिए भने 'गोर्खा पल्टन' मार्फत अभिनेताका रूपमा स्थापित भएका थिए। उनले 'अँगालो यो मायाको', 'निशानी', 'परदेशी' र हालै प्रदर्शन भएको 'पहिचानको लडाइँ' सम्म दर्जनौँ सफल चलचित्रमा अभिनय र गायनको जादु छरेका थिए।
नेपाली फिल्मका साथै उनले 'पाताल लोक' जस्ता ओटीटी श्रृङ्खला र सलमान खानको निर्माणमा बनेको 'ब्याटल अफ गलवान' मा समेत अभिनय गरेका थिए। आगामी वैशाखमा प्रदर्शन हुन लागेको यो चलचित्र नै उनको अन्तिम कार्य बन्न पुग्यो।
कोभिडमा आमा गुमाएपछि निकै भावुक बनेका प्रशान्तले पछिल्लो समय आफ्नो अधिकांश समय तीन वर्षीया छोरी र परिवारलाई दिने गरेका थिए। श्रीमती एयरहोस्टेस भएका कारण उनी घरमै बसेर छोरीको हेरचाह गर्थे।
सरल र घमण्डरहित स्वभावका प्रशान्तलाई सङ्गीतकर्मी र फिल्म निर्देशकहरूले एक 'अद्भुत प्रतिभा' का रूपमा स्मरण गरेका छन्।
उनको पार्थिव शरीरलाई दिल्लीबाट जन्मथलो दार्जिलिङ लगिने र त्यहाँ विशेष सम्मानका साथ अन्त्येष्टि गरिने तयारी भएको छ। जीटिए सरकार र उनका आफन्तहरू अहिले दिल्लीमै रहेका छन्।
नेपाली सङ्गीत र कलामार्फत नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन उनले पुर्याएको योगदानलाई इतिहासले सधैँ सम्मान गर्नेछ।