गरिमा विकास बैङ्कको नयाँ लोगो र छाप सार्वजनिक, आजैदेखि कार्यान्वयनमा
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १ बिहिबार
709
Shares
काठमाडौँ। गरिमा विकास बैङ्क लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई थप सशक्त र समयसापेक्ष बनाउने उद्देश्यका साथ नयाँ लोगो तथा छाप सार्वजनिक गरेको छ। बैङ्कले २०८२ माघ १ गते, बिहीबारदेखि लागू हुने गरी आफ्नो आधिकारिक लोगो र छाप परिवर्तन गरेको जानकारी दिएको हो।
बैङ्कको दीर्घकालीन रणनीतिक योजनाअनुसार, गत २०८२ कात्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारण सभाले लोगो र छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। सोही निर्णय र आवश्यक कानुनी प्रक्रियाहरू पूरा गरी बैङ्कले नयाँ पहिचानलाई औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको हो।
आधुनिकता र विश्वसनीयताको प्रतिबिम्ब
बैङ्कका अनुसार नयाँ लोगोले आधुनिक बैङ्किङको आभास दिनुका साथै सरल पहिचान र विश्वसनीय सेवाप्रतिको अटुट प्रतिबद्धतालाई झल्काउनेछ। समयको पदचापसँगै बैङ्कले आफ्नो स्वरूपमा परिमार्जन गरेर ग्राहकहरूमाझ थप ऊर्जावान् र सुदृढ रूपमा प्रस्तुत हुन खोजेको देखिन्छ।
लोगो परिवर्तनको अवसरमा बैङ्कले आफ्ना सम्पूर्ण ग्राहक, लगानीकर्ता र सरोकारवालाहरूलाई निरन्तर सहयोग र विश्वासका लागि धन्यवाद ज्ञापन गरेको छ। साथै, आगामी दिनहरूमा अझ प्रभावकारी, प्रविधिमैत्री र गुणस्तरीय बैङ्किङ सेवा प्रदान गर्ने प्रतिबद्धता समेत बैङ्कले व्यक्त गरेको छ।
हाल गरिमा विकास बैङ्कले देशका विभिन्न स्थानमा रहेका आफ्ना शाखाहरूमार्फत आधुनिक बैङ्किङ सुविधाहरू प्रदान गर्दै आइरहेको छ।