तराईमा बाक्लो हुस्सुको सास्ती, दुई प्रदेशमा वर्षा र हिमपातको सङ्केत
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
751
Shares
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा बदलाब देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले तराईमा बाक्लो हुस्सु लाग्ने र पहाडी क्षेत्रमा बादल लाग्ने क्रम जारी छ।
आज दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ। महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिएको छ। तराईका केही स्थानमा भने दिनभरजसो हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।
रातिको समयमा पनि कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीका पहाडी भागमा आंशिक बादल रहनेछ भने कर्णालीका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना कायमै छ। अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।
हुस्सु र कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटनका साथै हवाई र सडक यातायात प्रभावित हुन सक्ने भन्दै महाशाखाले सबैलाई आवश्यक सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ।