एमालेले लगायो उम्मेदवारको टुङ्गो, अन्य दलहरू अझै कसरतमा
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
852
Shares
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ। पार्टीले क्षेत्र नं १ मा गण्डकी प्रदेशसभाका पूर्वसदस्य मीनप्रसाद गुरुङ र क्षेत्र नं २ मा कालीगण्डकी गाउँपालिकाका बहालवाला अध्यक्ष खिमबहादुर थापालाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो।
उम्मेदवार गुरुङसँग एमाले स्याङ्जाको पूर्वअध्यक्ष र विभिन्न सामाजिक क्षेत्रमा नेतृत्व गरेको लामो अनुभव छ। अर्कातर्फ, कालीगण्डकी गाउँपालिकामा दुई पटकसम्म अध्यक्ष निर्वाचित भई लोकप्रिय छवि बनाएका थापाले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेसँगै आफ्नो पदबाट राजीनामा दिएर निर्वाचन केन्द्रित गतिविधिमा लाग्ने घोषणा गरेका छन्। थापा एमालेको केन्द्रीय सदस्य तथा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको महासचिवका रूपमा समेत सक्रिय छन्।
जिल्लामा निर्वाचनको सरगर्मी बढेसँगै निर्वाचन कार्यालयहरू स्थापना भई प्रशासनिक तयारी तीव्र पारिएको छ। स्याङ्जामा यसपटक कुल २ लाख ४८ हजार ८१६ मतदाताले मताधिकार प्रयोग गर्न पाउनेछन्, जसमा महिलाको संख्या १ लाख २६ हजार ३५१ र पुरुषको संख्या १ लाख २२ हजार ४६४ रहेको छ। निर्वाचन क्षेत्रअनुसार क्षेत्र नं १ मा १ लाख ३० हजार ८८६ र क्षेत्र नं २ मा १ लाख १७ हजार ९३० मतदाता रहेका छन्। जिल्लामा एमाले र नेपाली कांग्रेसका साथै राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ। एमालेले उम्मेदवार सार्वजनिक गरिसके पनि अन्य दलहरू भने अझै उम्मेदवार चयनकै आन्तरिक छलफलमा व्यस्त रहेका छन्।