काठमाडौँ । चिलीका राष्ट्रपति ग्याब्रिएल बोरिकले देशको मध्य-दक्षिणी क्षेत्रमा विनास निम्त्याइरहेको वन डढेलोका कारण मृत्यु हुनेको संख्या १८ पुगेको र यो संख्या अझै बढ्ने सम्भावना रहेको बताएका छन् ।
सान्टियागोबाट करिब पाँच सय किलोमिटर दक्षिणमा रहेको बायोबियो क्षेत्रको कन्सेप्सनमा पत्रकारहरूसँग कुरा गर्दै उनले अहिलेसम्म १८ जनाको मृत्यु भएको पुष्टि गर्दै यो संख्या बढ्ने बताए ।
प्रारम्भिक अनुमानअनुसार बायोबियोमा मात्रै करिब तीन सय घरहरू ध्वस्त भएका छन् ।
अन्तिम क्षति एक हजार घरभन्दा बढी हुन सक्ने चेतावनी दिइएको छ ।
पेन्को, नासिमिएन्टो र लाजा जस्ता नगरपालिकाहरूमा कर्फ्यू आदेश जारी गरिएको छ ।
राष्ट्रिय वन निगमकाअनुसार हाल १४ ओटा डढेलो रेड अलर्टअन्तर्गत सक्रिय छन् भने देशभर २४ हजार हेक्टरभन्दा बढी क्षेत्रफल डढेलोले सखाप पारेको छ ।
यस विपद्को सामना गर्न राष्ट्रपति बोरिकले नुब्ले र बायोबियो क्षेत्रमा संकटकालको घोषणा गरेका छन् ।