सुदूरपश्चिममा भारी हिमपात: तीन मुख्य राजमार्ग ठप्प, अन्धकारमा पहाडी जिल्ला
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १० शनिबार
799
Shares
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा गए रातिदेखि भएको भारी हिमपातका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ र देहिमाडौँ क्षेत्रमा बाक्लो हिउँ जमेपछि दशरथचन्द र जयपृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो।
बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहका अनुसार हिमपातले यातायात मात्र नभई विद्युत् सेवा समेत बन्द गराएको छ। रातिदेखिको मौसमी प्रतिकूलताले राजमार्ग र बिजुली दुवै ठप्प भए पनि ती सेवा पुनः सञ्चालनका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।
डडेल्धुराको साहुखर्क र हगुल्टे लगायतका क्षेत्रमा पनि भारी हिमपात भएपछि भीमदत्त राजमार्ग ठप्प बनेको छ। शुक्रबार बेलुकादेखि नै बैतडी, दार्चुला, बझाङ, डोटी र डडेल्धुराका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात सुरु भएको थियो।
यो वर्षको पहिलो हिउँदे वर्षा र हिमपात भएकाले विगत चार महिनादेखिको लामो खडेरीबाट चिन्तित बनेका किसानहरू भने खुसी भएका छन्। वर्षा र हिउँ नपर्दा सुक्दै गएका हिउँदे बालीहरू अब सप्रिने आशामा कृषकहरू उत्साहित देखिए पनि अत्यधिक चिसोका कारण सर्वसाधारणको दैनिक जनजीवन भने निकै प्रभावित बनेको छ।