arrow

दुई फिट हिउँ जमेपछि कोरला नाका ठप्प

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १६ शुक्रबार
korola-boarder.jpg

काठमाडौँ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल—चीन उत्तरी कोरलानाकाबाट हुने निकासी तथा पैठारी प्रभावित बनेको छ। बाक्लो हिउँ जमेका कारण बुधबारदेखि नै आयात-निर्यात पूर्ण रूपमा ठप्प भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ।

माथिल्लो मुस्ताङमा यस वर्ष तेस्रो पटक हिमपात भएको हो। लोमान्थाङ–२ छोसेरस्थित भन्सार कार्यालयका नायब सुब्बा जीवन देवकोटाका अनुसार जोमसोम–कोरला सडकमा दुई फिटभन्दा बढी बाक्लो हिउँ जमेकाले सवारी साधन चल्न सकेका छैनन्। यसले गर्दा भन्सारको नियमित कामकाज समेत रोकिएको छ।

चीनतर्फ सामान लिन गएका र आउँदै गरेका एक दर्जनभन्दा बढी कन्टेनरहरू अहिले छोसेर र चिनियाँ भन्सार क्षेत्रमै अलपत्र परेका छन्। कतिपय कन्टेनरको भन्सार प्रक्रिया सकिए पनि सडक बन्द हुँदा गन्तव्यतर्फ जान पाएका छैनन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार करिब ९० किलोमिटर सडक खण्डमा हिउँ जमेकाले सडक खुलाउन अझै केही दिन लाग्न सक्छ।

कालीगण्डकी करिडोर सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले आजदेखि छुसाङबाट हिउँ पन्छाउने उपकरण (डोजर) प्रयोग गरी सडक खुलाउने प्रयास गरिने बताएका छन्।

सशस्त्र प्रहरी बल (बिओपी) छोसेरका इन्चार्ज सुरज श्रेष्ठका अनुसार चिसो अत्यधिक बढेपछि कोरलानाकामा पाल टाँगेर बसेका स्थानीय व्यापारीहरू पनि घर फर्किएका छन्। अहिले माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री सेल्सियससम्म झरेको छ, जसका कारण मानिससँगै पशुचौपायालाई पनि ठूलो समस्या परेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ