arrow

सामाजिक सञ्जालमा चुनावी मत सोध्न प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १९ सोमबार
election-2082.jpg

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालबाट मतदाताको गोपनीयता भङ्ग गर्ने खालका गतिविधि नगर्न कडा निर्देशन दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाईँ र अञ्जन न्यौपानेले आइतबार एक विज्ञप्ति जारी गर्दै 'कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ' भन्दै प्रश्न सोधेर भिडियो वा सामग्री बनाउन रोक लगाएका हुन्।

केही अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले सर्वसाधारणलाई यस्ता प्रश्न गरी गोप्य मतदानको अधिकारमाथि हस्तक्षेप गरिरहेको गुनासो आएपछि प्रशासनले यस्तो कदम चालेको हो।

अनुगमन अधिकृत प्रसाईँका अनुसार मतदाताको गोपनीयता भङ्ग गर्ने वा गराउने यस्ता कार्य निर्वाचन आचारसंहिता २०८२ को दफा ४ (द) बमोजिम गम्भीर उल्लङ्घन मानिनेछ। यस्ता गतिविधिले निर्वाचनको निष्पक्षतामा समेत आँच पुर्‍याउने प्रशासनको ठहर छ।

विज्ञप्तिमा स्पष्ट भनिएको छ कि यदि कसैले प्रशासनको यो आग्रहलाई अटेर गरी आचारसंहिता उल्लङ्घन गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही प्रक्रिया अघि बढाइनेछ। आगामी फागुन २१ को निर्वाचनलाई मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई थप तीव्र बनाएको छ।

प्रशासनले सञ्चारमाध्यम र सर्वसाधारण सबैलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र लोकतान्त्रिक मूल्य मान्यताको सम्मान गर्न अपिल गरेको छ। व्यक्तिगत गोपनीयता र मतदानको स्वतन्त्रता कायम राख्नु सबैको जिम्मेवारी भएको विज्ञप्तिमा उल्लेख छ।

यो सूचनासँगै अब झापामा सामाजिक सञ्जालका लागि खिचिने 'स्ट्रीट पोल' वा चुनावी मत सर्वेक्षणका नाममा हुने गतिविधिमाथि प्रशासनको निगरानी बढ्ने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ