arrow

कांग्रेस प्रवक्ता चालिसे भन्छन् : नयाँ हावाको आयु लामो छैन 

सभापति थापासँग अरु कसैको तुलना हुन नसक्ने भन्दै नयाँ भनिएकाहरूले रातिमा स्टाटस लेख्ने, जनतालाई ठग्दै हिँड्ने बाहेक कुनै काम गर्न नसकेको आरोप 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ९ शनिबार
devraj-82-11-9.jpg

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको भविश्यको मार्गचित्र कोरेको बताउँदै नयाँका नाममा आएका दलको आयु लामो नरहेको बताएका छन् । आसन्न प्रतिनिधि सभा निर्वाचन देश बचाउने कि सक्काउनेबीच भएको दाबी गर्दै उनले भने,‘अहिलेको अवस्थामा देशलाई जिम्मेवारीका साथमा जोगाउनुपर्नेछ, त्यसका लागि कांग्रेसको विकल्प छैन, देशको भविष्य कांग्रेससँग जोडिएको छ ।’ 

नेपाली कांग्रेस जिम्मेवार लोकतान्त्रिक राजनीतिक पार्टी भएकाले जेन-जीसहित सबै जनताको आदेशलाई शिरोधार्य गरेर अघि बढेको उनको भनाइ छ । प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा रुपन्देही क्षेत्र नं. २ को बुटवलमा बुद्धिजीवीसंग नेपाली कांग्रेस अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै चालिसेले पार्टीले वर्तमानको समीक्षा गर्दै भरपर्दो भविष्य लिएर जनतामा गएको बताए ।

सुधारिएको कांग्रेसले देश पनि बदल्ने भन्दै उनले देश र जनमैत्री प्रशासनका विषयवस्तु कांग्रेसले अगाडि सारेको बताए । अहिले अल्गोरिदमले सामाजिक सञ्जाल क्याप्चर गरेको भन्दै सामाजिक सञ्जालका सबै कुरा तथ्यपरक नहुने भएकाले त्यसलाई जस्ताको त्यस्तै पत्याउन नहुने धारणा राखे । 

उनले भने– ‘अहिले चलेको हावाको कुनै भविश्य छैन, शरीरभरी दागै दाग र मुद्धैमुद्धा बोकेका मान्छेले सुशासनका कुरा गरेर चिच्चाउनुको अर्थ रहँदैन, बाटोमा देखिने भीड र सामाजिक सञ्जालमा पोखिने आक्रोश र मतपत्रमा लगाइने छापमा धेरै फरक हुन्छ, यसपटक देश गम्भीरतापूर्वक सोचेर रूखमा मत दिनुपर्छ ।’

प्रवक्ता चालिसेले सुधारिएको कांग्रेसबाट जनताले गरेको अपेक्षालाई कसरी सम्बोधन गर्दै सच्चिनु र सुध्रिनु पर्छ भनेर पार्टी अगाडि बढेको स्मरण गर्दै जनतालाई कांग्रेसले गरेका प्रतिज्ञा पत्र बुझाउन जरुरी रहेको बताए ।

प्रवक्ता चालिसेले कांग्रेसका उम्मेदवार घरदैलोमा पुग्दा आम कार्यकर्ता र जनतामा आएको उत्साहले हौसला र प्रेरणा मिलिरहेको भन्दै देशभर ठूलो सङ्ख्यामा कांग्रेस प्रवेश गर्ने लहर बढ्दै गएको बताए ।

प्रवक्ता चालिसेले कांग्रेसले स्पष्ट भिजनसहित सभापति गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने र देशको अर्थतन्त्र सुधारेर आवश्यक नीति बदल्दै जनतालाई सेवासुविधा सहज दिने गरि काम गर्ने बताए ।

उनले पार्टी सभापति थापासँग अरु कसैको तुलना हुन नसक्ने भन्दै नयाँ भनिएकाहरूले रातिमा स्टाटस लेख्ने, जनतालाई ठग्दै हिँड्ने बाहेक कुनै काम गर्न नसकेको आरोप लगाए ।

भर्खरै पालिकाहरुको कार्यसम्पादनमा सबैभन्दा कमजोर नतिजा ल्याएका काठमाडौँका तत्कालीन मेयरलाई देशको प्रधानमन्त्री बनाए देश पनि कार्यसम्पादनमा सबैभन्दा कमजोर हुने र देश नै सक्किने उनको दाबी छ ।

फरक प्रसङ्गमा उनले अहिले भेलुबाजे भन्ने पनि बाँचेको भए रास्वपाबाट चुनाव लड्न टिकट पाउने बताउँदै अरु योगदान चाहिएन, उनी पनि सामाजिक सञ्जालतिर लोकप्रिय नै थिए भन्दै टीप्पणी गरे । 

उनले सो पार्टीबाट टिकट पाएकाहरूको कुनै राजनैतिक इतिहास र धरातल नभएकोसमेत आरोप लगाए । भदौ २३ को गोली र २४ गतेको आगो यी दुवै अतिवादको विरुद्धमा रहेको स्मरण गराउँदै उनले अब देश सम्हालेर नेतृत्व गर्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य प्रतिमा गौतम, रामबहादुर कार्की, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, रुपन्देही क्षेत्र नं २ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल, समानुपातिक उम्मेदवार रिता सेन, गंगा शाही, प्रदेश कोषाध्यक्ष प्रकाश राना, रुपन्देही सभापति रामकृष्ण खाँण, युवा नेता अमृत ज्ञवाली, नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरी, बुद्धिजीवी परिचालन समिति संयोजक डा. बुद्धबहादुर थापा, भोजबहादुर केसी लगायतले बोल्दै बदलिएको सन्देशसहित कांग्रेस घरघरमा पुगेर जनतालाइ जगाउनुपर्ने बताए ।

कार्यक्रममा बुटवल ११ निवासी नेकपा एमालेका पार्टी सदस्य, निवृत्त राष्ट्र सेवक सनतकुमार श्रेष्ठ लगायत कांग्रेसमा प्रवेश गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ