arrow

अत्यधिक सार्वजनिक बिदाले आजित निजी क्षेत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २० बुधबार
public-holiday-sarwajanik-bida.jpg

काठमाडौँ। आम निर्वाचनको आसपासमा करिब एक साता सार्वजनिक बिदा परेको छ । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन निर्वाचनका लागि सार्वजनिक बिदा दिएको थियो ।

त्यसअघि फागुन १८ गते सोमबार ५६ जिल्लामा र १९ गते तराईका २१ जिल्लामा फागु पूर्णिमाको बिदा परेको थियो। त्यसपछि २३ गते शनिबार परेकाले एक साताजति सार्वजनिक बिदा भएको छ । महिलाका लागि फागुन २४ गते नारी दिवसको बिदा पनि रहेको छ ।

सरकारले २०८२ सालमा करिब ८० दिनभन्दा बढी सार्वजनिक बिदा दिने निर्णय गरेको छ भने २०८३ सालमा शनिबार र विभिन्न चाडपर्व तथा जयन्तीसमेत गरी १०९ दिन सार्वजनिक बिदा दिने तयारी गरेको छ ।

केही बिदा देशभर लागू हुनेछन् भने केही बिदा सम्बन्धित क्षेत्र र समुदायका लागि मात्र तोकिएका छन् । सरकारले आठ प्रकारका बिदा निर्धारण गरेको छ । २०८२ सालमा मात्रै ५२ दिन शनिबार सार्वजनिक बिदा तय गरिएको छ । पर्व बिदा भने सबैले पाउने व्यवस्था छ ।

महिला कर्मचारी, शिक्षण संस्था, जात्रा, दिवस, अपाङ्गता भएका कर्मचारी, जयन्ती तथा विशेष दिवसमा केही बिदा देशभर र केही सम्बन्धित क्षेत्र तथा समुदायका व्यक्तिका लागि निर्धारण गरिएको छ ।

विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकको बिदा समेत ध्यानमा राखेर १८ दिनसम्म सार्वजनिक बिदा व्यवस्थापन र समायोजन गर्न पाउनेछन् । प्रदेश र स्थानीय सरकारले पनि आफ्नो क्षेत्रको धर्म र संस्कृतिका आधारमा थप ६ दिन सार्वजनिक बिदा दिन सक्नेछन् ।

यसरी धेरै सार्वजनिक बिदा हुँदा निजी क्षेत्र प्रभावित हुन थालेको छ । सार्वजनिक बिदाका कारण मजदुर काममा नआउने र सरकारी कामसमेत नहुँदा समस्या हुने निजी क्षेत्रका अगुवाले बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक बिदा धेरै हुँदा काममा असर पर्न थालेको बताएका छन् ।

उनका अनुसार भूगोल र जनसंख्याका हिसाबले नेपाल सानो देश भए पनि बिदा दिने चलन धेरै हुँदा त्यसको असर काममा परेको छ । सबै समुदायलाई एकैपटक बिदा दिँदा काम गर्ने दिनभन्दा सार्वजनिक बिदा धेरै हुन थालेको उनको भनाइ छ ।

अध्यक्ष सिंहले भने, ‘भूगोल र जनसंख्याका हिसाबले नेपाल सानो देश हो । भारत र चीनभन्दा धेरै गुणा सानो जनसंख्या छ । देशमा विविधता धेरै छ र त्यसको सम्मान गर्नुपर्छ । तर सम्मान गर्ने क्रममा अर्थतन्त्रलाई असर पुग्ने गरी धेरै सार्वजनिक बिदा दिनु ठीक होइन । जीडीपी र आर्थिक वृद्धिमा असर पर्छ । जुन समुदायलाई बिदा दिनुपर्ने हो, त्यसैलाई मात्र दिनुपर्छ । सबै समुदायलाई सबै बिदा दिँदा काम गर्ने दिनभन्दा बिदा धेरै भइरहेको छ । धेरै भाषा र संस्कृति भएकाले बिदा दिएर मात्रै मनाउनुपर्छ भन्ने हुँदैन । शहीद दिवसमा पनि बिदा दिइन्छ, तर बिदा नदिई काम गर्दै कार्यक्रम गर्न सकिन्छ । धेरै बिदाले विकास र अर्थतन्त्र दुवैमा असर परेको छ । बिदाका कारण सरकारी कर्मचारी घर बस्दा निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको छ । निर्माण क्षेत्रमा केही काम बिदामा भए पनि धेरै मजदुरले चाडपर्व भन्दै काम नगर्दा समस्या भइरहेको छ ।’

उनले बिदाका कारण मुलुकको विकास र अर्थतन्त्र दुवै प्रभावित भइरहेको बताएका छन् । निर्माण क्षेत्रमा सार्वजनिक बिदाले काम गर्न झन् कठिन भइरहेको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ