काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अग्रतालाई निकै फराकिलो बनाएको छ। रास्वपाका उम्मेदवार शिशिर खनालले प्रतिस्पर्धीहरूलाई ठूलो मतान्तरले पछि पार्दै आफ्नो जिततर्फको यात्रा बलियो बनाएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ४:०० बजेसम्म ३२ हजार ७३३ मतगणना हुँदा रास्वपाका शिशिर खनालले २० हजार ९९२ मत प्राप्त गरेका छन्। खनालले प्राप्त गरेको यो मत दोस्रो स्थानमा रहेका उम्मेदवारको तुलनामा झण्डै चार गुणा बढी हो।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार सबुज (कृष्ण) बानियाँले ५ हजार १२७ मत पाएका छन् भने नेकपा (एमाले) का अमन मास्केले ३ हजार ७ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल २० जना उम्मेदवारहरू चुनावी मैदानमा छन्। अहिले यस क्षेत्रको मतगणना कार्य तीव्र गतिमा अघि बढिरहेको छ।