arrow

झापाका पाँच ओटै क्षेत्रमा रास्वपाको अग्रता

चार पटकका प्रधानमन्त्री केपी बालेनसँग निकै पछाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
oli-balen-new.jpg

काठमाडौँ ।   चार पटकसम्म देशको प्रधानमन्त्री भइसकेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली शुरूआती चरणदेखि नै निकै पछाडि परेका छन्। एमालेको 'गढ' मानिने झापा निर्वाचन क्षेत्र नम्बर ५ मा  ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वालेन्द्र साह (बालेन) सँग निकै पछाडि परेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारीअनुसार रास्वपाका बालेनले ६ हजार ५५१ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका ओलीले १ हजार ४२८ मत मात्र पाएका छन्। चारपटकसम्म देशको प्रधानमन्त्री भइसकेका ओलीसँग बालेनको मतान्तर ५ हजार १ सय २३ पुगेको छ।

यसैगरी, नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १८६ र नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङले १२९ मत पाएका छन्। अघिल्लो निर्वाचनमा देशभरमै सबैभन्दा बढी मतान्तरले जितेका ओली आफ्नै क्षेत्रमा युवा उम्मेदवारसँग पछि परेपछि अहिले देशभर नै झापा ५ को नतिजालाई विशेष चासोका साथ हेरिएको छ। अहिले दमकस्थित मतगणना स्थलमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ र गणना कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

साथै झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार जिल्लाका सबै क्षेत्रमा 'घण्टी' का उम्मेदवारहरू प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन्।

यस्तै, झापा क्षेत्र नम्बर १ मा रास्वपाकी निशा डाँगी ३ हजार १७० मतसहित अगाडि छिन्। उनलाई नेपाली कांग्रेसका केशवराज पाण्डे (१,०२८ मत) र नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र उप्रेती (७८० मत) ले पछ्याइरहेका छन्।

क्षेत्र नम्बर २ मा रास्वपाकी इन्दिरा राना मगर ३ हजार ३९५ मतका साथ अग्रस्थानमा छिन्। उनलाई एमालेका देवराज घिमिरेले १ हजार ३१० मतका साथ पछ्याइरहेका छन्। 

यता क्षेत्र नम्बर ३ मा रास्वपाका प्रकाश पाठक ४ हजार ७५ मतसहित अगाडि छन् भने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २ हजार ७७९ मत पाएका छन्। यहाँ श्रम संस्कृति पार्टीका दीपक तिम्सिना १ हजार ४६८ मतका साथ तेस्रो स्थानमा छन्।

क्षेत्र नम्बर ४ मा रास्वपाका शम्भूप्रसाद ढकाल ५ हजार २५४ मतसहित निकै अगाडि छन्। उनलाई एमालेका लालप्रसाद साँवा लिम्बूले १ हजार २४८ र नेपाली कांग्रेसका देउकुमार थेवेले ४७० मतका साथ पछ्याइरहेका छन्। 

झापाका सबै निर्वाचन क्षेत्रमा अहिले मतगणना कार्य तीव्र गतिमा अघि बढिरहेको छ। 'हेभीवेट' उम्मेदवारहरू सुरुवाती गणनामा पछि परेपछि झापाको चुनावी नतिजाले राष्ट्रिय राजनीतिमा ठूलो चर्चा पाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ