सीके राउत र तेजुलाल चौधरी पछाडि पार्दै सप्तरीका तीन क्षेत्रमा रास्वपाको अग्रता
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
1k
Shares
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार सप्तरीका निर्वाचन क्षेत्र नम्बर १, २ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले सुरुवाती अग्रता लिएका छन्। मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेका अनुसार जिल्लाका यी तीनवटै क्षेत्रमा 'घण्टी' का उम्मेदवारहरूले पुराना र प्रभावशाली नेताहरूलाई पछि पारेका हुन्।
निर्वाचन क्षेत्र नम्बर ४ मा रास्वपाका सीताराम साह ५ हजार ३१२ मतका साथ अग्रस्थानमा छन्। उनलाई नेपाली कांग्रेसका तेजुलाल चौधरीले २ हजार २८१ मतका साथ पछ्याइरहेका छन् भने जनता समाजवादी पार्टी (जसपा) नेपालका डा. बाबी सिंहले १ हजार ३०५ मत प्राप्त गरेका छन्। यस्तै, क्षेत्र नम्बर २ मा रास्वपाकै रामजी यादव १ हजार ६९८ मतका साथ अगाडि छन्। यहाँ जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले ८२२ मत र जसपाका उमेश यादवले ७७४ मत पाएका छन्।
यसैगरी, निर्वाचन क्षेत्र नम्बर १ मा पनि रास्वपाकी पुष्पाकुमारी चौधरी २ हजार ७०७ मतसहित अग्रस्थानमा छिन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामदेव साह तेलीले ४२६ र नेकपा (एमाले) का सुमनराज प्याकुरेलले २१२ मत प्राप्त गरेका छन्। मधेस प्रदेशको राजनीतिमा निर्णायक मानिने सप्तरीमा नयाँ दलको यो सुरुवाती अग्रताले पुराना राजनीतिक शक्तिहरूलाई ठूलो चुनौती दिएको छ। अहिले सबै निर्वाचन क्षेत्रमा मतगणना कार्य तीव्र गतिमा अघि बढिरहेको छ।