रास्वपाको लहरमा पछारिए पूर्व सञ्चारमन्त्री गुरुङ, लमजुङमा धर्मराज विजयी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
1k
Shares
काठमाडौँ । लमजुङको राजनीतिमा लामो समयदेखि एकछत्र प्रभाव जमाएका नेकपा (एमाले) का प्रभावशाली नेता एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ यसपटकको निर्वाचनमा नराम्ररी पराजित भएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसीले १७ हजार २२ को फराकिलो मतान्तरले पछारेका हुन्।
मुख्य निर्वाचन कार्यालय लमजुङका अनुसार केसीले ३३ हजार ८९८ मत प्राप्त गरी सानदार जित हासिल गरे। २०७९ को निर्वाचनमा ३४ हजार ९६९ मत ल्याएर विजयी भएका गुरुङ यसपटक मात्र १६ हजार ८७६ मतमा खुम्चिएका छन्। नेपाली कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका हरिजङ्ग तामाङले ३ हजार ३७१ मत प्राप्त गरे।
विशेषगरी 'जेन-जी' आन्दोलनका क्रममा गुरुङले दिएका कतिपय विवादास्पद अभिव्यक्ति र युवा पुस्तामा देखिएको नयाँ राजनीतिक लहरका कारण उनले आफ्नो साख जोगाउन सकेनन्। एमालेको बलियो किल्ला मानिने लमजुङमा रास्वपाका धर्मराज केसीको यो जितले देशैभरि नयाँ शक्तिको उदय भएको सन्देश दिएको छ। ७५ हजार ४६० मत खसेको यस क्षेत्रमा पृथ्वीसुब्बाको हारलाई यस निर्वाचनको ठूलो 'अपसेट' का रूपमा हेरिएको छ।