arrow

बासना बनिन् कांग्रेसकी एक्ली प्रत्यक्ष निर्वाचित महिला उम्मेदवार, को हुन् उनी ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
bashana-thapa-dailekh-82-11-24.jpg

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले १७ स्थानमा जित हासिल गरेको छ । १६५ स्थानमा भएको प्रत्यक्षतर्फ यसअघिको सबैभन्दा ठूलो दल कांग्रेसले यसपालि मात्र १७ सिटमा चित्त बुझाएको हो । 

यी १७ सिटमा एक जनामात्र महिला निर्वाचित भएकी छिन् । दैलेखबाट बासना थापामात्र निर्वाचित हुँदा बाँकी १६ निर्वाचित सांसदहरु पुरुष हुन् । 

कोशी प्रदेशका जिल्लाहरुमा तेह्रथुमबाट सन्तोष सुब्बा, पाँचथरबाट नरेन्द्रकुमार केरुङ, सोलुखुम्बुबाट प्रकाशसिंह कार्की निर्वाचित भए । 

मधेसबाट रौतहट १ का उम्मेदवार मोहम्मद फिरदोश आलममात्र विजयी भए । 

बागमती प्रदेशतर्फ रसुवाका मोहन आचार्य निर्वाचित भए । 

गण्डकी प्रदेशका मनाङबाट टेकबहादुर गुरुङ र मुस्ताङबाट योगेश गौचन थकाली निर्वाचित भए । 

लुम्बिनी प्रदेशका पाल्पा १ बाट सन्दीप राना, कपिलबस्तु ३ बाट अभिषेकप्रताप शाह निर्वाचित भए । 

कर्णाली प्रदेशमा मुगुका खड्ग शाही, हुम्लाका जयपति रोकाया, जाजरकोटका खडकबहादुर बुढा, सुर्खेत १ बाट विष्णुबहादुर खड्का र दैलेख १ बाट बासना थापा निर्वाचित भए । 

सुदूरपश्चिम प्रदेशमा बाजुराबाट जनकराज गिरी, अछामबाट भरतकुमार स्वार, डोटीबाट भरतबहादुर खड्का निर्वाचित भएका छन् । 

बासनाको आफ्नो लडाइँ
दैलेखबाट बासना थापा निर्वाचित भएकी हुन् । थापा १२ हजार ३७२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार रबीन्द्रराज शर्माले ११ हजार ७९६ मत पाए । थापा र शर्माबीचको मतान्तर ५७६ रहेको छ ।

यस क्षेत्रमा रास्वपाका नन्दकिशोर बस्नेतले ८ हजार १५१ र नेकपाका अम्मरबहादुर थापाले ४ हजार २५६ मत प्राप्त गरे । यस्तै राप्रपाका रणबहादुर सिंहले ५९८, नेमकिपाका जगतबहादुर ओलीले ३०२, नेकपा (माओवादी) का रामलाल विश्वकर्माले २३५ र राजमोका नरबहादुर सिंहले ९१ मत पाए । 

स्वतन्त्र उम्मेदवार लोगबहादुर बोगटीले २९ र आम जनता पार्टीकी मेनुका श्रेष्ठले १६ मत प्राप्त गरे । यस निर्वाचन क्षेत्रमा कूल ७९ हजार ७०१ मतदाता रहेका थिए ।

को हुन् कांग्रेसको गरिमा राख्ने बासना ? 

विगत २४ वर्षदेखि राजनीतिमा सक्रिय उनी स्नातकोत्तर हुन् । युवा पुस्तादेखि नै समाज सेवामा लाग्दै आएकी उनी शिक्षित, इमानदार र जनताको दुःखसुख बुझ्ने उम्मेदारका रूपमा उनी चिनिन्छिन् । 

कोभिड–१९ को कठिन समयमा पनि उनले प्रभावितलाई सहयोग गर्दै आएकी थिइन् । संस्कृति, भूगोल र सामाजिक विकासका लगि निरन्तर काम गर्दै आएकी बासनाले विशेषगरी महिला अधिकार र महिला सशक्तिकरणका लागि आवाज उठाउँदै आएकी छिन् ।
 
काठमाडौँ जस्तो सुगम ठाउँमा जन्मिएकी बासनालाई दैलेखमा दूरदराजमा गई जनतासँग घुलमिल भएर राजनीति गर्न त्यति सहज नभए पनि परिवारको साथ सहयोगले गर्दा उनलाई अगाडि बढ्न हौसला मिल्दै गयो । बिहेपछि काठमाडौँबाट दैलेख जाँदा शुरूमा उनलाई त्यहाँको रहनसहन,संस्कृति बुझ्न कठिन भयो । राजनीतिमा सक्रिय रूपमा लागेकी उनी क्रमशः दैलेखका जनतासँग घुलमिल हुँदै गइन् ।
 
परिवार नै राजनीतिमा लागेकाले उनलाई बाल्यकालदेखि नै पार्टीप्रतिको आस्था बढ्दै गएको थियो । परिवारको विरासत बोकेर स्कूले जीवनदेखि नै उनी पार्टीमा लागेकी थिइन् । माइती कांग्रेस परिवारको भएकाले पनि राजनीतिमा अगाडि बढ्न सहज भएको उनको अनुभव छ ।
 
विसं ०५६ सालदेखि नेविसंघमा आबद्ध भएर उनको राजनीति यात्रा शुरू भएको थियो । उनले ०६१ सालदेखि नेपाली कांग्रेस दैलेखमा आबद्ध भई काम गर्दै आएकी छिन् । थापा ०६९ मा सुम्निमा नारी उत्थानको उपाध्यक्ष बनेकी थिइन् । उनी नेपाली कांग्रेसको १३ औँ महाधिवेशन प्रतिनिधि र १४ औँ महासमिति सदस्य भइसकेकी छिन् । ०७३ दैलेख अस्पतालको अध्यक्ष भई काम गरेको अनुभव उनीसँग छ ।
  
यस्तै ०६७ देखि लाइन्स क्लब दैलेखमा आबद्ध भई प्रमुख कार्यकारी अधिकृत भई काम गरेको अनुभव उनीसँग छ । स्कूल अध्ययन गर्दादेखि नै उनी स्काउटमा समेत आबद्ध भई काम गरेकी थिइन् । 

युवावर्गको रोजाइमा परेकी थापा राजनीतिसँगै सामाजिक कार्यमा सक्रिय छन् । बासना ०७४ मा भएको स्थानीय तह निर्वाचनबाट दैलेखको नारायण नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेकी थिइन् । चार हजार ८६६ मत प्राप्त गरेकी उनी एमालेकी सावित्री मल्लसँग ५७७ मतले पराजित भइन् ।

उनी राजनीतिसँगै सामाजिक क्षेत्रमा क्रियाशील छिन् । विशेष गरी महिलाका आवाजलाई उनले बुलन्द गर्दै आएकी छिन् । 

उनले प्रतिनिधि सभामा जित हासिल गरेपछि सामाजिक सञ्जालमार्फत दैलेखीका माग संसदमा उठाउने वचन दिएकी छिन् । त्यतिमात्र होइन प्रतिस्पर्धीका भावना पनि समेट्ने उनले सामाजिक भावना व्यक्त गरेकी छिन् । 

उनले लेखिन् - दैलेखी जनताको माया र  मतको लागि धेरै धन्यवाद, मसंग प्रतिस्पर्धामा रहनु भएका प्रतिस्पर्धी उम्मेदवारज्युहरुले  उठाएका अजेन्डाहरुलाई पनि म सदनमा उठाउनेछु . तपाईंहरुको लोकतान्त्रिक विचार जिवित राख्नेनै छु । म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले पनि उत्तिकै साथ र सहयोग दिनुभयो। हाम्रो प्रयास सफल भयो। अभियानमा जुट्नुहुने सबैलाई हृदयदेखि नै धेरै–धेरै धन्यवाद। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ