arrow

यस्तो छ निर्वाचन परिणामपछि फिच रेटिङ्सको विश्लेषण

रास्वपाको बहुमतले तोड्यो अस्थिरताको चक्र, लगानीकर्तामा उत्साह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २८ बिहिबार
fitch-right.jpg

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी 'फिच रेटिङ्स' ले नेपालको पछिल्लो निर्वाचन परिणाम र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्पष्ट बहुमतले मुलुकको राजनीतिक अस्थिरता अन्त्य गर्न सक्ने सकारात्मक प्रक्षेपण गरेको छ। फिचका अनुसार रास्वपाको जितले सत्ताका लागि गरिने अप्राकृतिक गठबन्धन र बारम्बार सरकार परिवर्तन हुने शृङ्खला रोकिने सम्भावना बढेको छ । जसले लगानीकर्ताहरूको मनोबल उच्च बनाउन मद्दत पुग्नेछ।

फिचले आफ्नो प्रेस वक्तव्यमा यो नतिजालाई परम्परागत शक्ति बाँडफाँडको राजनीतिबाट मुक्त हुने अवसरका रूपमा व्याख्या गरेको छ। नेपाली कांग्रेस र नेकपा एमाले जस्ता पुराना दलहरूले सिट गुमाएसँगै नीतिगत स्थिरता, सुशासन र आर्थिक सुधारका लागि नयाँ बाटो खुलेको फिचको ठम्याइ छ। यद्यपि, रास्वपाले आफ्नो वाचापत्रमा राखेका आर्थिक लक्ष्यहरू—जस्तै ५ वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर र प्रतिव्यक्ति आम्दानी ३ हजार डलर पुर्‍याउने योजना—लाई फिचले 'महत्त्वाकांक्षी' र चुनौतीपूर्ण भनेको छ।

फिचको अनुमान अनुसार सन् २०२७ जुलाईसम्म नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने देखिएकाले रास्वपाका लक्ष्यहरू भेट्टाउन कठिन हुनेछ। सन् २०२५ नोभेम्बरमा नेपाललाई 'बीबी माइनस' रेटिङमा राखेको फिचले नेपालको न्यून वैदेशिक ऋण र मजबुत बाह्य तरलतालाई सकारात्मक पक्ष मानेको छ। तर, अन्य 'बीबी' श्रेणीका देशहरूको तुलनामा नेपालको प्रतिव्यक्ति आय र सुशासनका सूचकहरू अझै कमजोर रहेको औँल्याइएको छ।

नयाँ सरकारका लागि 'कार्यान्वयन क्षमता' नै मुख्य चुनौती हुने फिचको चेतावनी छ। कमजोर सरकारी प्रभावकारिता र नियामक गुणस्तरले सुधारका कार्यमा अवरोध पुर्‍याउन सक्ने उल्लेख गर्दै फिचले निजी र वैदेशिक लगानी भित्र्याउन व्यावसायिक वातावरणमा सुधार, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणमा ठोस काम हुनुपर्नेमा जोड दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ