arrow

मन्त्री बन्न 'लबिङ' र 'मिडिया ट्रायल' नगर्न सांसदहरूलाई रविको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ४ बुधबार
ravi-lam.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्री पदका लागि कुनै पनि प्रकारको लबिङ वा ‘मिडिया ट्रायल’ नगर्न आफ्ना सांसदहरूलाई कडा निर्देशन दिएका छन्। 

सांसदहरूको अभिमुखीकरण कार्यक्रमको समापन गर्दै उनले सरकारमा जाने विषयलाई लिएर बाहिर जथाभावी नबोल्न सचेत गराएका हुन्।

रास्वपाले पाएको अभूतपूर्व जनमत र सरकारमा जाने सम्भावनाका बीच सांसदहरूमा मन्त्री बन्ने आकाङ्क्षा देखिनु स्वाभाविक भए पनि त्यसलाई मिडियाबाजीको विषय नबनाउन उनले आग्रह गरे। 

पार्टीले कसलाई सरकारमा पठाउने भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक निर्णय नगरेको सभापति लामिछानेले स्पष्ट पारे।

मन्त्री छनोटका लागि व्यक्तिको क्षमता र विज्ञतालाई नै मुख्य आधार बनाइने बताउँदै उनले कसैले पनि आफ्नो लागि भनसुन गर्नु नपर्ने प्रस्ट पारे। "तपाईंहरूमध्ये कोही न कोही मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ, तर कृपया ‘म फलानो मन्त्री’ भनेर प्रचार गर्ने काम बन्द गरिदिनुहोला," लामिछानेले भने, "पार्टीले सही निर्णय गर्छ, हामीलाई तपाईंहरूको विज्ञता र क्षमता राम्रोसँग थाहा छ।"

सभापति लामिछानेले चुनावका बेला जनतासँग गरिएको प्रतिबद्धता पत्र (करार) का अक्षर–अक्षर पढ्न सांसदहरूलाई निर्देशन दिनुभयो। मन्त्री बन्ने दौडमा लाग्नुभन्दा पनि जनताको चुलो कसरी बल्छ र उनीहरूको जीवनस्तर कसरी उकासिन्छ भन्ने कुरामा ध्यान केन्द्रित गर्न उनको आग्रह थियो।

पार्टीले मिडियामा धेरै देखिने र पर्दा पछाडि बसेर काम गर्ने दुवै थरी सांसदहरूको उच्च मूल्याङ्कन गरिरहेको बताउँदै उनले जनअपेक्षा अनुसार काम गर्न सबैलाई प्रोत्साहित गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ