जनयुद्धका बाँकी कार्यभार अब नयाँ नेतृत्वको काँधमा: 'टीआरसी' हल नगरे संकट आउने चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ५ बिहिबार
860
Shares
काठमाडौँ । जनयुद्धकालीन मुद्दाहरू र सत्य निरनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी कामहरू टुङ्ग्याउन पुराना दलहरू असफल भएको र अब यसको जिम्मेवारी नयाँ शक्तिहरूको काँधमा आएको सरोकारवालाहरूले बताएका छन्। बिहीबार राजधानीमा अखिल नेपाल जनसांस्कृतिक महासंघद्वारा आयोजित एक कार्यक्रममा वक्ताहरूले वर्तमान राजनीतिक परिवर्तन र आगामी सरकारको भूमिकाबारे चर्चा गरेका हुन्।
कार्यक्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले विस्तृत शान्ति सम्झौतालाई तार्किक निष्कर्षमा पुर्याउनुको सट्टा पुराना दलहरू सत्ता र शक्तिको खेलमा अल्झिएको आरोप लगाएका छन्। उनले जनयुद्धको मुख्य नेतृत्वकर्ता माओवादी र प्रचण्ड स्वयं गैरजिम्मेवार बन्दा दुई दशकमै देशमा ठुलो विद्रोहको स्थिति आएको जिकिर गरेका छन्। "रास्वपा नेतृत्वले टीआरसीलाई गम्भीरताका साथ लिनुपर्नेछ र यसको जिम्मेवारी अब रवि र बालेनजीहरूको काँधमा आएको छ," भण्डारीले भने। उनले नयाँ शक्तिले जनमतको सम्मान गर्दै देशहितमा काम गरे साथ दिने तर राष्ट्रघात गरे चुप नबस्ने चेतावनी समेत दिएका छन्।
नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य माइला लामाले 'जेनजी विद्रोह' पछिको निर्वाचनमा जनताले स्पष्ट रूपमा परिवर्तनको म्यान्डेट दिएको र नयाँ सरकारले त्यसलाई पूरा गर्ने विश्वास व्यक्त गरेका छन्। उनले आफूहरू सधैँ परिवर्तन र नयाँ क्रान्तिकारीहरूसँग सहकार्य गर्न तयार रहेको बताए।
अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव कुशल बोगटीले वि.सं. २०५५ चैत ५ गते काभ्रेको अनेकोटमा तत्कालीन राज्यसत्ताले जनकलाकारहरूलाई जिउँदै जलाएर हत्या गरेको सम्झनामा 'सांस्कृतिक प्रतिरोध दिवस' मनाइँदै आएको जानकारी दिएका छन्। उनले च्याङ्बा लामा, चिनिमाया लामा लगायत १७० भन्दा बढी सांस्कृतिक सहिदहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
समारोहमा विभिन्न कविहरूले कविता वाचन गरेका थिए भने कलाकारहरू आरोह नेपाली र रमन थामीले साङ्गीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा रास्वपा नेतृत्वको सरकारले गर्ने राम्रा काममा जनस्तरबाट सहयोग हुने अपेक्षा समेत गरिएको बताइएको छ।