अमेरिका–इरान तनाव उत्कर्षमा: उर्जा केन्द्रहरूलाई निशाना बनाउने दुवै पक्षको चेतावनी
ट्रम्पको अल्टिमेटम: '४८ घण्टाभित्र हर्मुज जलमार्ग नखोले इरानका पावर प्लान्ट ध्वस्त पारिदिन्छौँ', 'डिसेलिनेसन प्लान्ट' र सूचना प्रविधि पूर्वाधारहरूमा समेत हमला गर्ने इरानको चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
1.9k
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई निकै कडा चेतावनी दिँदै ४८ घण्टाभित्र हर्मुज जलमार्ग 'स्ट्रेट अफ हर्मुज' पूर्ण रूपमा नखोले इरानका पावर प्लान्टहरूमाथि हमला गर्ने बताएका छन्।
राष्ट्रपति ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममार्फत चेतावनी दिँदै भनेका छन्, “यदि इरानले ४८ घण्टाभित्र हर्मुज जलमार्ग खोल्दैन भने अमेरिकाले इरानी पावर प्लान्टहरूमा आक्रमण गरी तिनलाई ध्वस्त पारिदिनेछ। यसको सुरुवात इरानको सबैभन्दा ठुलो प्लान्टबाट हुनेछ।”
ट्रम्पको चेतावनीलगत्तै इरानले पनि प्रत्याक्रमणको चेतावनी दिएको छ। इरानले यदि आफ्ना पावर प्लान्टहरूलाई निशाना बनाइएमा मध्यपूर्वमा रहेका अमेरिका र इजरायलसँग सम्बन्धित सम्पूर्ण ऊर्जा संरचनाहरूमा आक्रमण गर्ने जनाएको छ।
इरानको 'खातम अल-अनबिया' सेन्ट्रल कमाण्डका प्रवक्ता इब्राहिम जुल्फाघारीले अमेरिका र इजरायलसँग जोडिएका समुद्री पानीलाई पिउनयोग्य बनाउने 'डिसेलिनेसन प्लान्ट' र सूचना प्रविधि पूर्वाधारहरूमा समेत हमला गर्ने बताए।
यसैबीच, इरानले शनिबार राति इजरायलको दक्षिणी सहर डिमोनामा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। उक्त हमलामा परी करिब २० जना घाइते भएका छन्।
डिमोना इजरायलको आणविक कार्यक्रम केन्द्र रहेको संवेदनशील सहर हो। इरानको यो कदमपछि नै अमेरिकाले सैन्य हस्तक्षेपको चेतावनी दिएको विश्लेषकहरूले बताएका छन्।