काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर) मा घाँसे मैदान निर्माण कार्य अगाडि बढाएको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले सूचना जारी गरी चैत ८ गतेदेखि निर्माण कार्य शुरू गरेको हो ।
महानगरपालिकाको आर्थिक वर्ष २०८२-८३ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत सो स्थानमा घाँसे मैदान बनाउन लागिएको हो । महानगरले भ्याट सहित २ करोड ४२ लाख ५१ हजार १३१ रुपैयाँमा न्यू बेन्जामिन सुस्मन आर. के (जे.भी) सँग एक वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको हो ।
हाल टुँडिखेलमा धरहरा निर्माणको समयमा राखिएको माटो हटाउने, चार कुनामा बोरिङ खन्ने काम भइरहेको छ ।
निर्माण कार्य शुरू भएपछि सो क्षेत्रमा आयोजना हुने विभिन्न चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह तथा अन्य सार्वजनिक कार्यक्रमहरू अवरुद्ध हुने महानगरले जनाएको छ ।