काठमाडौं । संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासन कुरिरहेको बताएको छ । प्रचण्डले आफूहरुका माग संवोधन गरी चुनावमा जाने प्रतिवद्धता जनाएकाले सोही आश्वासन कुरिरहेको फोरम नेपालले बताएको छ ।
फोरम नेपाल संसदीय दलका प्रमुख सचेतक डा. शिवजी यादवले प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म आफूहरुसंग सकारात्मक कुरा गरिरहेकाले पनि कुरिरहेको बताएका छन् । तर उनी प्रधानमन्त्रीको पछिल्लो क्रियाकलापप्रति भने अचम्ममा परेका छन् ।
हाम्राकुरासंग उनले भने, ‘हामीसंगको छलफलमा उहाँले हाम्रा सबै माग पूरा गर्ने बताउनु हुन्छ, तर यही कुरा जब काँग्रेस र एमालेको छलफलमा हुन्छ अनि उनीहरुकै कुरा मान्नुहुन्छ ।’ यादवले प्रधानमन्त्रीको मन एकातिर भए पनि काम भने काँग्रेस र एमालेले चाहेको जस्तो गरिरहेको बताए ।
उनले काँग्रेससंग सत्ता साझेदारीका लागि हस्ताक्षर गरे पनि आफूहरुसंग देश बचाउनका लागि हस्ताक्षर गर्नुपर्ने तर्क गरे । उनी भन्छन्, ‘प्रचण्ड ज्यूले काँग्रेससंग बैशाख ३१ गतेसम्म सरकारमा रहने हस्ताक्षर गरेको भए पनि यदि चुनाव हुने वातावरण बनेन भने हैसियत र दोहोरो भूमिका पनि उदांगिन्छ ।’
संशोधन थाँती राखेर चुनावमा
प्रमुख सचेचक डा. यादव गत सोमबार निर्वाचन आयोगमा दल दर्ता गर्न समेत गए । उनले दल दर्ता एक कानुनी वाध्यता भएको बताएका छन् । उनले भने, ‘निर्वाचन आयोगले निश्चित समय दिएकाले दल दर्ता गर्न गएका हौं ।’ उनले अगाडि थपे, ‘हामी निर्वाचन विरोधी हैनौं, संविधान संशोधन गरेरमात्र निर्वाचनमा जाऔं भनेका हौं ।’
आफूहरुलाई पटक पटक ललिपप देखाउने काम भयो भने चुनावमासमेत सामेल नहुने उनले बताए । संवैधानिक संकट आउँछ भन्ने बहानामा संविधान संशोधनलाई थाँती राखेर चुनावमा जाने गल्ती नगर्ने यादवले स्पष्ट पारेका छन् ।
संविधान संशोधन हुन्छ त ?
‘संविधान संशोधन नगरी सुखै छैन, प्रधानमन्त्री प्रचण्डले हामीलाई दिएको आश्वासन नै त्यही हो, उहाँले नवलपरासीलाई त छुनु भयो तर सुनसरी, मोरङ र झापाको तल्लो भेकलाई पहाडबाट अलग गर्ने कुरालाई भने अझै मानिएको छैन, त्यो माग पूरा हुनुपर्छ’, यादवले भने । यो विषयमा छलफल गरेर अगाडि बढ्नु पर्ने भए पनि अहिलेसम्म आफूहरुसंग छलफलसमेत नभएको यादवले बताए । अन्य विषयमा भने मोटामोटी सहमति भएको यादवको भनाइ छ ।
संविधान संशोधन तत्कालै होला भन्ने विश्वास यादवलाई पनि छैन । त्यसैले त भन्छन्, ‘कुराहरु केही मिलेका छैनन्, प्रधानमन्त्रीले हामीसंग एउटा कुरा गर्नुहुन्छ अनि तीन दलको बैठकमा कुरा फरक भइसकेका हुन्छन्’ ।
फागुन १९ गते के होला ?
फागुन १९ गते संसद बैठक बस्दैछ । दिउँसो १ बजे संसद बैठक आव्हान गरिएको संसद सचिवालयले जनाएको छ । तर त्यो बैठक सूचना टाँसेर स्थगित गरिने ठोकुवा फोरमका प्रमुख सचेतक यादवको छ । उनले भने, ‘कि संसद बैठक सूचना टाँसेर स्थगित गरिन्छ कि त संविधान संशोधनका लागि भन्दै यसको विषय बुझ्न र अध्ययनका लागि भन्दै समितिमा पठाइन्छ ।’
यथास्थितिमा संविधान संशोधन हुन्न भन्ने यादवलाई पनि थाहा छ । उनी भन्छन्, ‘संविधान संशोधन हुने सम्भावना कम छ, यसमा प्रधानमन्त्रीले कुनै भूमिका खेल्नै सक्नु भएको छैन ।’
किन झुठो बोलिरहेका छन् प्रचण्डले ?
यादवको पारो बिस्तारै बढ्छ । उनी भन्छन्, ‘यो सबै तीन दलबीच भइरहेको सत्ता हस्तान्तरणको खेल हो, एउटाले छाड्छ अर्कोले लिन्छ, अहिलेसम्म भइरहेकै यस्तै हो ।’ सत्ताका लागि प्रचण्डले काँग्रेस एमालेसंग भूमिका खेले पनि आफूहरुलाई भने धोका दिनेमा विश्वस्त हुन नसकेको यादवले बताए । उनी भन्छन्, ‘कुरा गर्दा उहाँ निकै भावुक हुनुहुन्छ, हाम्रा माग अहिल्यै संवोधन गरें भनेजस्तो पनि गर्नुहुन्छ, बुझ्नै कठिन भयो, जब तीन दलको बैठकमा कुरा फेरिन्छ अनि विवशतामा पर्नुभएहोला भन्ठान्छौं ।’
एमालेको दबाबमा चुनावको मिति घोषणा गरिएको भन्दै यादवले प्रचण्डको इच्छा त अहिले चुनाव गराउने हो जस्तो लाग्दैन भने । यादवले आफ्ना माग संवोधन हुने छाँट नआए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने भएको बताए ।
तर उनले भने, ‘पार्टी अध्यक्ष ज्यू एक हप्ताभित्र काठमाडौं फर्कनु हुनेछ अनि केन्द्रीय समिति बैठक बसेर यसबारे निर्णय गर्छौं, यो गहन विषय भएकाले एक्लै निर्णय गर्न मिल्दैन ।’