arrow

जेन-जी आन्दोलनका क्रममा सिन्धुली कारागारबाट फरार थुनुवा सर्लाहीमा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २७ शुक्रबार
pakrau9.jpg

काठमाडौँ । जेन-जी आन्दोलनका बेला सिन्धुली कारागारको पर्खाल फुटाएर फरार भएका एक थुनुवालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले मलङ्गवा नगरपालिका–९ गोरखकाली क्षेत्रबाट २५ वर्षीय सुनिल बरहीलाई बिहीबार बिहान नियन्त्रणमा लिएको हो।

मलङ्गवा नगरपालिका–१२ का बासिन्दा बरही गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको फाइदा उठाउँदै कारागारबाट भागेका थिए। उनी अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान जस्तो गम्भीर मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका प्रतिवादी हुन्।

प्रहरीका अनुसार बरही २०७८ चैत २० गते मलङ्गवा–१२ का ८ वर्षीय बालक आकाश कुमार ठाकुर (मिठु) को अपहरण र हत्या घटनाका मुख्य आरोपी हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत १५ लाख रुपैयाँ फिरौती माग गर्दै बालकलाई अपहरण गरी बन्धक बनाएका थिए। फिरौती नपाएपछि बालकको घाँटी कसी हत्या गरेर शवलाई प्लास्टिकको बोरामा राखी छिमेकीको शौचालयको सेफ्टी ट्याङ्कीमा फालेको अवस्थामा फेला पारिएको थियो।

लामो समयदेखि फरार रहेका बरहीलाई पक्राउ गरेपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ। गम्भीर अपराधमा संलग्न व्यक्ति कारागारबाटै फरार भएपछि सुरक्षा संयन्त्रमाथि प्रश्न उठिरहेका बेला प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिन सफल भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ