मूल्यवृद्धि र सामग्री अभावले विकास निर्माण ठप्प हुने अवस्थामा
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २९ आइतबार
705
Shares
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले अप्रत्याशित मूल्यवृद्धि र निर्माण सामग्रीको चरम अभावका कारण मुलुकभरका विकास निर्माणका कामहरू अघि बढाउन नसकिने स्थिति आएको बताएको छ। महासंघका अध्यक्ष निकोलस पाण्डेले वर्तमान परिस्थितिमा काम जारी राख्नु 'अप्ठ्यारो मात्र नभई असम्भव' भएको उल्लेख गरेका छन्।
अध्यक्ष पाण्डेका अनुसार सडक निर्माणका आयोजनाहरूमा बिटुमिन, केरोसिन र डिजेल जस्ता पेट्रोलियम पदार्थको हिस्सा ४० प्रतिशत रहन्छ। "डिजेलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ र बजारमा यो सर्वसुलभ पनि छैन," उनले भने, "इन्धन र अन्य निर्माणजन्य सामग्री पाउनै कठिन भएपछि काम ठप्प हुने अवस्थामा पुगेको हो।"
ढुङ्गा, गिटी र बालुवा जस्ता नदीजन्य सामग्री उत्खननका लागि बनाइएका मापदण्डहरू अत्यन्तै जटिल भएको पाण्डेको तर्क छ। उनले ठ्याक्कै काम गर्ने मुख्य सिजन सुरु भएपछि मात्र स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीहरूले क्रसरहरूलाई 'अवैध' देख्ने गरेको भन्दै आपत्ति जनाए। वातावरणमा न्यूनतम क्षति पुग्ने गरी व्यावहारिक मापदण्ड बनाएर राष्ट्रिय गौरवका आयोजनाका लागि आवश्यक सामग्री सहजै उपलब्ध गराउनु पर्नेमा उनले जोड दिए।
मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि बढिरहेकाले महासंघले हाल काम गर्न नसक्ने व्यवसायीहरूलाई काम अघि नबढाउन भनेको छ। महासंघले त्यस्ता व्यवसायीहरूको म्याद थपका लागि पहल गर्ने र काम गरिरहेकाहरूको हकमा 'उचित मूल्य समायोजन' का लागि सरकारसँग लबिङ गरिरहेको पाण्डेले बताए। "हाल प्रचलनमा रहेको मूल्य समायोजनको 'इन्डेक्स' ले अहिलेको महँगी धान्न सक्दैन," उनले स्पष्ट पारे।
भौतिक पूर्वाधार र सहरी विकास मन्त्रीले उचित मूल्य समायोजन गरिदिने प्रतिबद्धता जनाएको जानकारी दिँदै पाण्डेले यसै हप्ताभित्र ठोस निकास निस्कनेमा आफूहरू आशावादी रहेको बताएका छन्।