काठमाडौँ । मलेसियाको उत्तरी बोर्नियो राज्य सबास्थित एक तटीय गाउँमा आइतबार बिहान भएको भीषण आगलागीमा झन्डै एक हजार घर जलेर खरानी भएका छन्। सान्दाकन जिल्लामा भएको यस दुखद घटनाबाट नौ हजारभन्दा बढी बासिन्दा प्रभावित भएको मलेसियाली अधिकारीहरूले जानकारी दिएका छन्।
सान्दाकन जिल्लाका अग्नि नियन्त्रण प्रमुख जिमी लागुङका अनुसार आगलागी स्थानीय समयअनुसार मध्यरात १:३२ बजे सुरु भएको थियो भने दिउँसो १२ बजे मात्र पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगो ४ हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको र भाटाको समय भएका कारण अग्नि नियन्त्रणका लागि पर्याप्त खुला जलस्रोत जुटाउन निकै कठिनाइ भएको उनले बताए।
सान्दाकन नगरपालिकाका अध्यक्ष वाल्टर केन्सनले प्रभावित क्षेत्रको निरीक्षणपछि उक्त स्थान बसोबासका लागि असुरक्षित पाइएको र नगरपालिकाले यस घटनालाई 'विपद्' घोषणा गरेको जानकारी दिए। आगलागीबाट ठुलो भौतिक क्षति भए तापनि अहिलेसम्म कुनै मानवीय क्षतिको खबर आएको छैन। स्थानीय प्रशासनले घरबारविहीन भएका बासिन्दाहरूका लागि तत्काल अस्थायी आश्रयस्थलको व्यवस्था मिलाउन सुरु गरेको छ।