अत्यधिक गर्मीबाट हुने विपद् व्यवस्थापनका लागि सरकारले ल्यायो नयाँ कार्ययोजना
दुई लाख स्वयंसेवक परिचालन गरिने, मस्यौदाका विविध पक्षबारे सरोकारवाला निकायहरूसँग परामर्श
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १० बिहिबार
500
Shares
काठमाडौँ । सरकारले अत्यधिक गर्मीका कारण सिर्जना हुने स्वास्थ्य जोखिम र विपद् व्यवस्थापन गर्न 'विपद् व्यवस्थापनसम्बन्धी कार्ययोजना, २०८३' को मस्यौदामाथि औपचारिक छलफल शुरू गरेको छ। बिहीबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला निकायहरूसँग यस मस्यौदाका विविध पक्षबारे परामर्श गरेको हो।
छलफलका क्रममा गर्मीले निम्त्याउने विपद्को प्रभावकारी सामना गर्न स्थानीय सरकारको भूमिकालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने सुझाव प्राप्त भएको प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले जानकारी दिए। कार्ययोजनामा स्थानीय तहले आफ्नो क्षेत्रको तापक्रम र अवस्था हेरी विद्यालयहरूको पठनपाठन सञ्चालन वा बन्द गर्ने सम्बन्धमा स्वायत्त निर्णय लिन सक्ने अधिकारलाई उपयोग गर्ने गरी नीति तय गरिने उनले बताए।
विपद् व्यवस्थापनलाई थप मजबुत बनाउन यस पटक जनशक्ति परिचालनमा विशेष जोड दिइएको छ। "विगतका वर्षहरूमा स्काउटको सहभागिता न्यून भए पनि अब त्यसलाई व्यापक बनाइनेछ," कार्यकारी प्रमुख भट्टले भने, "स्काउटसँगै विपद् व्यवस्थापनका लागि करिब २ लाख स्वयंसेवकहरू थपिएका छन्, जसले गर्मीजन्य आपत्कालीन अवस्थामा तत्काल कार्यस्थलमा पुगेर काम गर्न सहज बनाउनेछ।"
कार्ययोजनाको मस्यौदामा जनचेतनामूलक कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको छ। सहभागीहरूले सर्वसाधारणलाई गर्मीबाट बच्ने उपायहरू सिकाउन र जनस्वास्थ्यमा पर्न सक्ने असरबारे पहिल्यै सचेत गराउनुपर्नेमा जोड दिएका छन्। पछिल्लो समय जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रमले जनजीवन कष्टकर बन्दै गएकाले यो कार्ययोजनाले गर्मीको समयमा हुने मानवीय र भौतिक क्षति कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।