विद्युत् प्राधिकरणले आरसीओडी संशोधनका लागि प्रवद्र्धकहरूलाई गर्यो आह्वान
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १३ आइतबार
541
Shares
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् आयोजनाका प्रवद्र्धकहरूलाई आयोजनाको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति अर्थात् आरसीओडी संशोधन प्रक्रियाका लागि आवश्यक कागजातसहित सम्पर्कमा आउन आग्रह गरेको छ।
प्राधिकरणको आफ्नै दायित्वभित्र पर्ने प्रसारण लाइन तथा सबस्टेशन निर्माण कार्य समयमै सम्पन्न नभएका कारण निजी क्षेत्रका प्रवद्र्धकहरूसँग गरिएको विद्युत् खरिद सम्झौता र ग्रिड कनेक्सन सम्झौतामा उल्लेखित मितिहरू परिमार्जन गर्न लागिएको हो। विशेषगरी प्राधिकरणको २०७१ भदौ ३१ गतेको ६ सय ८८औँ बैठकको निर्णयका आधारमा यो प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ।
यस प्रक्रियाका लागि प्रवद्र्धकहरूले आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र, वित्तीय व्यवस्थापन सम्पन्न भएको प्रमाणित कागजात र व्यापारिक उत्पादन सुरु गर्ने साविकको मिति सकिनुअघि नै प्राधिकरणमा दिइएको आवेदनको विवरण पेश गर्नुपर्नेछ। साथै, आयोजनाको भौतिक निर्माण कार्य प्राधिकरणको प्रसारण लाइन निर्माणको प्रगतिको अनुपातमा भएको हुनुपर्ने शर्त समेत सूचनामा उल्लेख गरिएको छ।
निजी क्षेत्रका ऊर्जा उद्यमीहरूले लामो समयदेखि प्रसारण लाइनको अभावले गर्दा उत्पादन सुरु गर्ने मिति संशोधन गरिदिन माग गर्दै आएकोमा सोही मागलाई सम्बोधन गर्दै प्राधिकरणले यो कदम चालेको हो।