उपत्यकामा २४ घण्टामा १७ सयभन्दा बढी चालक कारबाहीमा
साढे ८ लाख राजस्व संकलन
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १९ शनिबार
265
Shares
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने एक हजार ७२० जना सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यस कारबाहीबाट राज्यकोषमा कुल ८ लाख ५८ हजार रुपैयाँ राजस्व जम्मा भएको छ।
प्रहरीका अनुसार सबैभन्दा बढी लेन अनुशासन पालना नगर्ने २०६ जना चालक कारबाहीमा परेका छन्। त्यसैगरी, तीव्र गतिमा सवारीसाधन चलाउने १७५ जना, ट्राफिक सङ्केत (ट्राफिक लाइट) उल्लङ्घन गर्ने १२९ जना र मादक पदार्थ सेवन (मापासे) गरी सवारी चलाउने १३६ जनालाई कारबाही गरिएको छ।
नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १२४ जना पनि कारबाहीको दायरामा आएका छन्। अन्य कारबाहीमा सडक पेटीमा पार्किङ गर्ने ९२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने २८ जना र निर्धारित स्थानभन्दा बाहिर यात्री चढाउने वा ओराल्ने २० जना चालक परेका छन्। यसबाहेक अन्य विभिन्न सवारी नियमहरू पालना नगर्ने एक हजार ८१० जनालाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन र सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले निगरानी र कारबाहीलाई तीव्रता दिँदै आएको छ।