पहिरोले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २० आइतबार
392
Shares
काठमाडौँ । केही दिनदेखि निरन्तर भइरहेको वर्षा र त्यससँगै आएको पहिरोका कारण देशभरका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार आज बिहान खसेको पहिरोले ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुर र मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्ति लोकपथलाई पूर्ण रूपमा ठप्प बनाएको छ।
त्यस्तै प्युठानको सरुमारानी गाउँपालिका–४ खहरे खोलास्थित भालुवाङ–प्युठान सडकखण्ड र लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरे भञ्ज्याङमा खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गमा पनि सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।
विशेष गरी सिन्धुपाल्चोकको भोटेकोसी–२ कोदारीस्थित अरनिको राजमार्ग गत वैशाख १६ गतेदेखि नै पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको र हालसम्म सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ। यद्यपि केही स्थानमा भने अवरुद्ध सडकहरू आंशिक रूपमा सुचारु हुन थालेका छन्।
वैशाख १२ गतेको बाढीले अवरोध सिर्जना गरेको भोजपुरको मध्यपहाडी लोकमार्ग र वैशाख १६ गतेको पहिरोले प्रभावित म्याग्दीको बेनी–जोमसोम सडकखण्ड हाल एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। वर्षात्को समयमा बाढी र पहिरोको जोखिम उच्च रहने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन र सडकको अवस्था बुझेर मात्र गन्तव्यतर्फ लाग्न प्रहरीले सबैमा आग्रह गरेको छ।